५ दलीय गठबन्धनलाई आगामी निर्वाचनसम्मै निरन्तरता दिनुपर्छ: मन्त्री श्रेष्ठ



पुष्कर बुढाथोकी, भक्तपुर ।

भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले ५ दलीय गठबन्धनलाई आगामी निर्वाचनसम्मै निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।

आज माओवादी केन्द्र मध्यपुरथिमी नगरअबिधेशन उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले गठबन्धनमा उत्पन्न हुन सक्ने असहमतिलाई छलफलबाट सहमतिमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो ।गठबन्धन सरकारले साझा नीति कार्यक्रम बनाउँदै काम गरिरहेको बताउँदै मन्त्री श्रेष्ठले ठाऊँ पाउँदा संविधान विरोधी तत्व अगाडी आउनसक्ने तर्फ सचेत हुनु जरुरी रहेको बताउनुभयो ।संविधानको रक्षा र उपलब्धिलाई संस्थागत गर्नु सबैको दायित्व रहेको बताउँदै उहाँले संबिधान र कानुनमा ब्यबस्था भएका जनताका हक अधिकारलाई ब्यबहारिक कार्यान्वय गर्नुपर्ने बताउनुभयो ।

मन्त्री श्रेष्ठले आफूले मन्त्रालय संहालेपछि भूमिहिन दलित, भूमिहिन सुकुम्वासीलाई व्यवस्थापन गर्न सरोकारवालासँग छलफल गरेर प्रक्रिया अगाडि बढाएको उल्लेख गर्नुभयो ।मुक्त हलीया, कमैया, कमलरी र हरुवा चरुवाका समस्या समाधान गर्न कार्यदल बनाएर काम सुरु गरिएको बताउनुभयो ।उहाँले संविधानमा व्यवस्था भएको पैत्तृक सम्पतिमा महिलाको हक सुनिश्चित गर्न अंशवण्डा गर्दा महिलालाई अनिवार्य उपस्थित गराउनुपर्ने व्यवस्था कार्यान्वयन गर्न देशभरका मालपोत कार्यालयमा निर्देशन जारी गरी सकिएको जानकारी दिनुभयो ।भूमिहिनलाई भूमि दिएर उत्पादनमा जोड्ने र सहकारीलाई त्यसको लक्ष्य, उदेश्य र मर्म अनुसार सञ्चालन गरेर रोजगारी सिर्जना गर्नेतर्फ मन्त्रालय सक्रियतापूर्वक लागेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले भूमिसम्बन्धी समस्या समाधान गर्न यसअघि बनेका विभिन्न आयोग र समितिहरुबाट भएका राम्रा कामहरुलाई ग्रहण गरेर कामलाई छिटो पुर्णता दिने बताउनुभयो ।मन्त्री श्रेष्ठले एक साताभित्रै भू–उपयोग नियमावली आउने र त्यसबाट कृषियोग्य भूमिको संरक्षण गरेर कृषिको औद्योगिकरण र बिविवधकरण गरेर व्यवसायीक कृषि र उत्पादनमा बृद्धीमा जोड दिईने बताउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज दिलकृष्ण प्रजापति,सहईन्चार्ज देबेन्द्र श्रेष्ठ दिवाकर,जिल्ला संयोजक डीपी ढकाल,नेता कृष्णलाल गोजाश्रेष्ठ, नगर संयोजक बिजय श्रेष्ठ,प्रदीप श्रेष्ठ लगायतले अधिवेशनको सफलताको कामना गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्