बारको साताव्यापी विरोध कार्यक्रम सार्वजनिक



नेपाल समाचारपत्र, काठमाडौं । 

नेपाल बार एसोसिएसनले समग्र न्यायिक प्रक्रिया नै अवरुद्ध हुने गरी आइतबारदेखि शुक्रबारसम्म देशव्यापी विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वार्ताका लागि दोस्रोपटक गरेको आग्रहलाई समेत वहिष्कार गर्दै बारले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो । दोस्रो चरणअन्तर्गत थप संघर्षका कार्यक्रमहरु घोषणा गरिएको जानकारी दिँदै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सोहीअनुरूप आन्दोलन कार्यक्रम सञ्चालन गर्न देशभरका बार इकाइलाइ पत्र पठाएको बताउनुभयो ।

प्रधानन्यायाधीशले वार्ताबाटै समस्या समाधान हुने भन्दै वार्तामा आउन गरेको आग्रहलाई अस्वीकार गर्दै बारले राजीनामा माग गरिसकेको अवस्थामा वार्ता औचित्यहीन भएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।आन्दोलनको कार्यक्रमअन्तर्गत आइतबार देशभरका बार एकाइलाई अदालतभित्र दंगा प्रहरी प्रवेश गराई कानुन व्यवसायीको शान्तिपूर्ण धर्ना र विरोध कार्यक्रमलाई दबाउन खोजिएको र कानुन व्यवसायीमाथि दमन र कुटपिट गरेको विरोधमा बहस बहिष्कार गर्न आग्रह गरिएको छ ।

त्यस्तै, सोमबार देशभरका अदालतमा विहान १० देखि १२ बजेसम्म कालोपट्टीसहितको धर्नालाई निरन्तरता दिने, मंगलबार हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादको बाहेक कुनै पनि अदालत र न्यायाधीकरणमा फिराद, प्रतिउत्तर, पुनरावेदन, रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने बारले निर्णय गरेको छ ।

बुधबार उच्च अदालत र उच्च अदालतका इजलासमा विरोधसभा आयोजना गर्ने, बिहीबार र शुक्रबार सर्वोच्च अदालत केन्द्रित विरोध कार्यक्रमलाई निरन्तरता दिने बारले निर्णय गरेको छ । बारले मंसिर २४, २५ र २६ गतेलाई तोकिएको राष्ट्रिय सम्मेलन पनि स्थगित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्