६ हजार ७ सय ४३ वडामा माओवादीको एकसाथ अधिवेशन शुरू



काठमाडौं, (नेस)  ।

 नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले एकसाथ देशभरका सबै वडाको अधिवेशन शुरू गरेको छ । शनिबार एकैदिन ६ हजार ७ सय ४३ वडामा नेतृत्व चयनका लागि वडा अधिवेशन शुरु भएको छ । अधिकांश वडा अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको माओवादीले बताएको छ ।

धेरै वडाको अधिवेशन सम्पन्न भएको र बाँकी रहेको वडाले पनि आइतबारसम्म नेतृत्व चयन गरिसक्ने बताइएको छ । आगामी पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनअन्तर्गत शनिबार वडा अधिवेशन शुरु भएको हो ।पार्टी केन्द्रले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र नसके निर्वाचनमा जान निर्देशन दिएको छ । माओवादीले यसअघि सबै कमिटीहरू सर्वसम्मत रूपमा चयन गर्दै आएको छ भने पार्टीका जनवर्गीय संगठनको नेतृत्व भने पार्टी केन्द्रले चयन गर्दै आएको छ । माओवादीले तीन चरणमा सम्मेलन गर्ने निर्णय गरेको छ ।

माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले वडा सम्मेलनपछि यही मंसिर ११ गते पालिका तथा नगर सम्मेलन र २५ गते प्रदेश सम्मेलन सम्पन्न हुने जानकारी दिनुभयो ।वडादेखि केन्द्रीय तहसम्म निर्वाचन प्रक्रिया पूरा हुँदा सो पार्टीका ३ लाख कार्यकर्ताले कम्तीमा एउटा पदीय जिम्मेवारी पाउनेछन् भने ८ हजारभन्दा धेरै समिति गठन हुने भएको छ ।वडादेखि केन्द्रसम्म सर्वसम्मत वा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्ने योजनाअनुसार बनेको केन्द्रीय निर्वाचन आयोगले ७७ जिल्ला तथा सातवटा प्रदेशमा निर्वाचन समिति बनाएर आफ्नो काम गरिरहेको छ ।

श्रेष्ठका अनुसार निर्वाचन समितिमा रहने सदस्यलाई तालिम र प्रशिक्षण दिएर देशभर खटाइएको छ ।राष्ट्रिय सम्मेलनको तयारीस्वरूप माओवादीले पार्टी सदस्यता वितरण तथा नवीकरको पनि टुंगो लगाएको छ । माओवादीका अनुसार नविकरण र नयाँ सदस्यता वितरण गरी पार्टीको संगठित सदस्यको संख्या ८ लाखभन्दा बढी पुगेको छ । माओवादीले यसअघि पार्टीको संगठित सदस्यको संख्या १० लाख पु¥याउने घोषणा गरेको थियो ।

वडा सम्मेलनलगत्तै माओवादीले गाउँ एवं नगर कमिटीको अधिवेशन पनि अगाडि बढाउने भएको छ । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा स्थानीय तहमा नेतृत्वको आकांक्षी पनि बढ्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्