होसियार ! फेरि कोरोना फैलिएला ?



कोरोना महामारीको दोस्रो लहर कायमै छ । बन्द गरिएका क्षेत्रहरु महिनौंपछि खुल्न थालेका छन् । कोरोना शुरु हुनेबित्तिकै बन्द गरिएका विद्यालयहरु पनि चलायमान हुँदै छन् । अभिभावकहरुले पनि आफ्नो मनमा डर राखेर छोराछोरी विद्यालय पठाएका छन । तर कोरोना लाग्दैन भनेर निस्फिक्री बस्न सक्ने अवस्था अभिभावकको छैन । सरकारी, निजी विद्यालयले पनि कोरोनाको जोखिमलाई ध्यानमा राखेका छैनन् । यता, विद्यार्थीहरु पनि हेलचेक्र्याइँ गरिरहेका छन् । विद्यालयहरुले विद्यार्थीको स्वास्थ्यलाई लिएर गैरजिम्मेवारीपूर्ण काम गरिरहेका छन् ।

शिक्षा मन्त्रालयले विद्यालय खोल्ने, बन्द गर्ने जिम्मेवारी स्थानीय निकायलाई दिएको छ । विद्यालयहरुले बालबालिकाको स्वास्थ्यमाथि खेलबाड त गरिरहेका छैनन् भनेर हेर्ने काम पनि स्थानीय निकायले नै पाएको छ । तर महानगरका मेयर मस्तसँग निदाएका छन् ।उनलाई जगाउन आवश्यक भएको छ । निजी विद्यालयसँग कमिसन खाएर, व्यक्तिगत फाइदा लिएर महानगर चुप लागेर बस्न पाउँदैन । नेपाल सरकारले कोरोना हटिसक्यो भनेर विश्वास दिलाउन सकेको छैन । सबै नागरिक र बालबालिकाले खोपसमेत पाउन सकेका छैनन् ।

कोभिडको परीक्षण गराउनेको संख्या कम भएका कारणले पनि कोरोना संक्रमितको दर घटिरहेको हो । तर मृत्यु हुनेको संख्या घट्न सकेको छैन । बालबालिका विद्यालय त गएका छन् तर उनीहरुलाई स्वास्थ्य मापदण्डको विषयमा धेरै ज्ञान छैन् ।ज्ञान भएका ठुल्ठूला विद्यार्थीहरु पनि स्वतन्त्ररुपमा जथाभावी हिँडेका छन् । विद्यालयले पनि निकै लापरबाही देखाएको छ । एउटै बेन्चमा पाँचजनासम्म विद्यार्थी बसेका छन् । अनि कहाँ भयो भौतिक दूरीको पालना ? अरुको त कुरा छोडौं, शिक्षकहरुले समेत कोरोनालाई बेवास्ता गरेका छन् ।

विद्यार्थीहरुको मुखमा मास्क पनि छैन । न विद्यालयको ढोका स्यानिटाइजर । विद्यालयभित्र रहेको खाजाघरमा पनि निकै चर्को भीड देखिन्छ । कतिपय विद्यार्थीका अभिभावकहरु अझै पनि चिन्तामा बसेका छन् ।विद्यार्थीका बाबुआमालाई विद्यालयको गतिविधिको बारेमा केही पनि पत्तो हुँदैन । थाहा भएकाहरुलाई पनि छोराछोरी स्कुल पठाउँदिन भन्न पनि सुख छैन । पढ्नको लागि होइन, मर्नको लागि छोराछोरी विद्यालय पठाएजस्तो देखिन्छ । निजी विद्यालयका प्रिन्सिपलको करले गर्दा अभिभावक पछि हट्न सकेका छैनन् ।धेरै विद्यार्थी पढ्न गएकै ठाउँबाट कोरोना सल्केर मरे । पढ्ने नाममा बालबालिकाले आफ्नो ज्यान नै गुमाए । स्वास्थ्य मन्त्रालयले दिनहुँ कोरोना विवरण सार्वजनिक गरेको छ । तर, कति वर्षको संक्रमित मरेको हो भन्ने विवरण मन्त्रालय सार्वजनिक गर्न हिच्किचाउँछ ।

स्वास्थ्यमन्त्रीलाई डाक्टरको सरुवा र बढुवा गर्दै ठिक्क छ । सरुवा गरेपछि त दाम आउँछ । जनताका छोराछोरी मरे पनि हामीलाई के मतलब भन्ने खालका छन् अहिलेका स्वास्थ्यमन्त्री । स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्ड पालना नगर्नेलाई कारबाही गर्नतर्फ मन्त्रीको ध्यान गएको छैन ।सामान खरिद गरेर कमिसन खानमै व्यस्त देखिएका मन्त्रीलाई जनताको चिन्ता छैन । स्वास्थ्य मन्त्रालयको कर्मचारीहरु पनि त्यस्तै छन् । भ्रष्टाचारी गुरुका भ्रष्टाचारी चेलाहरु । कहाँबाट कमिसन खान पाइन्छ, व्यक्तिगत सम्पत्ति जोड्न पाइन्छ भनेर दौडिरहेका हुन्छन् ।सरकारले बनाएको मापदण्ड पालना गर्ने सहमतिसँगै सबै व्यापारिक क्षेत्रहरु सञ्चालनमा आए । गृह मन्त्रालयले पनि जनतासँग अनुगमन गर्ने बाचा गर्दै व्यापार व्यवसाय चलाउन दियो । तर गृहमन्त्रीले के गरे ? जनताको हितमा यिनले के नै गर्न चाहे र ?

मन्त्री भएर आए, गलाभरि माला लगाए । कार्यकर्ता बनाउने, कर्मचारीलाई सरुवा गर्ने, कमिसन खाने, आफ्नो नातेदारलाई जागिर लगाउने, उनले गर्ने भनेको यति नै हो । उपत्यकामा भएका सम्पूर्ण व्यवसायले कुनै पनि स्वास्थ्य मापदण्डको पालना गरेका छैनन् ।वित्तीय संस्था, रात्रिकालीन व्यवसायी, किराना पसल, यातायात क्षेत्र चलाउनको लागि सरकारले मापदण्ड त बनायो तर यी व्यवसायीले सरकारलाई नै हरेको हे-यै बनाइदिए । सरकारले बनाएको मापदण्डलाई कुल्चेर यिनीहरुले आफ्नो मनमर्जी चलाए ।अहिले रात्रिकालीन व्यवसाय रातभरि सञ्चालन हुन्छन् । भेडाबाख्राझैँ मानिसहरु त्यहाँ पुगेका हुन्छन् । तिनीहरुले पनि स्वास्थ्य मापदण्डको धज्जी उडाइदिएका छन् । खान र नाच्न जानेलाई सरकारले बेरोकतोक छाडा छोडिदिएको छ ।

सार्वजनिक यातायातको स्थिति पनि त्यस्तै छ । दाउरा मिलाए जसरी कोचेका यात्रुहरुलाई सास फेर्न पनि हम्मेहम्मे पर्छ । सहचालक र चालकलाई त पैसा भए भइहाल्यो । मास्क पनि नचाहिने, पञ्जा नभए नि हुने । स्यानिटाइजर त सार्वजनिक सवारीको ढोकामा देख्नसमेत पाइँदैन ।फुटपाथमा व्यापार गर्ने मानिसहरुले पनि हेलचेक्र्याइँ गरिरहेका छन् । फुटपाथमा त मेला लागेजस्तो देखिन्छ । मान्छेको अत्यधिक चाप त्यही माथिको अव्यवस्थित फुटपाथ व्यवसाय । किराना पसलेहरुले पनि स्वास्थ्य मापदण्डको पालना नगरीकन व्यापार गरिरहेका छन् ।
बाटो हिँड्ने सर्वसाधारण पनि यसभित्रै पर्छन् । बाटो हिँड्ने त झन् पूरै निडर भएर हिँडेका छन् । हात समाएर, कोरोना फैलाउँदै हिँड्ने काम सबैबाट भइरहेको छ । माइतीघरमा दैनिकजसो आन्दोलन, विरोध र धर्ना देख्न सकिन्छ । देशका पढेलेखेका, बुद्धिजीवीहरु कामकाज छोडेर जतिखेर नि आन्दोलनको पछि दौडिरहेका हुन्छन् ।

अहिले फेरि सर्वोच्च अदालतभित्र नयाँ रमिता देख्न पाइएको छ । सर्वोच्च अदालतमा आजकल दिनकै आन्दोलन हुने गरेको छ । न्याय दिन भनेर वकिल बनेकाहरुलाई राजनीति गर्दै ठिक्क छ । वकिल भनेको छ, कोरोना फैलाउँदै हिँडेको छ ।वकिलहरुलाई चाहिँ कोरोनाले नछुने हो ? भेडाको बथानजस्तै एक ठाउँमा थुप्रिएका छन् । न्याय दिने नाममा कालो कोट लगाउने र आन्दोलनमा सहभागी हुने काम मात्र गरेका छन् ।कोरोनाले देश नै अस्तव्यस्त बनाइदिएको छ । कोरोनाको कारण सरकारले दुईचोटि लकडाउन गरिसक्यो । अस्ति नै मास्क नलगाउनेलाई सरकारले जरिबानासहित कारबाही गरेको थियो । तर यी वकिलहरुलाई चाहिँ किन कारबाही गरिएन ? यो त जनतालाई गरिएको भेदभाव हो ।

सर्वसाधारणलाई कोरोना लाग्ने तर वकिलहरुलाई चाहिँ नलाग्ने हो ? कि यिनीहरुले कोरोना नलाग्ने औषधि खाएका छन् ? अहिले अदालतमा आन्दोलन गर्ने सबै वकिलहरु केपी ओलीका कार्यकर्ता हुन् । तर वकिलहरुलाई जिल्ला प्रशासन कार्यालयहरुले किन कारबाही गरेनन् ।चाडबाडको बेलामा पनि व्यापारीहरुलाई खुला छाडियो । अनुगमनमा खासै चासो दिइएन । अहिले पनि उपत्यकाका सिडियोहरु किन मौन छन् ? व्यापारीहरुबाट ठूलो रकम लिएर यिनीहरु मौन बसेका हुन् ? यसमा गृहमन्त्रीको पनि हात हुन सक्छ । पैसाको आडमा हाम्रो देशमा जे पनि सम्भव छ ।

– दीपक गहतराज, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्