दमकल थपेर जोखिम घटाउन पहल गरौँ



उपत्यकाभित्रका हरेक जिल्लामा घनाबस्ती बढेको छ । अरु जिल्लामा पनि मानिसहरुको बसोबास क्रमिकरुपमा बढ्दो छ । तर काठमाडौंमा भने अलि धेरै नै सर्वसाधारणको बसोबास छ । जनसंख्या बढ्दा र आवासीय क्षेत्रहरुको निर्माणले खालि जग्गा सबै मासिसकेको छ ।
आकाशबाट परेको पानी जमिनभित्र जान पाउँदैन । अव्यवस्थित शहरीकरणले जमिनबाट मूल फुटेर पानी बाहिर निस्कन पाउँदैन । गाईवस्तुको निमित्त पानी खान बनाएका आहाल, पोखरी अहिले सबै हराइसकेका छन् । ढुंगेधारा, कुवा पनि मासेर सबै घर बनाइसकेका छन् ।

खोलानाला त सिद्धिसकेका छन् भने भएका खोलानालामा बगेको पानीमा पनि ढल मिसाइएका छन् । ढल मिसिएका खोलानालाको पानी प्रयोग गर्ने कुरै भएन । सरकारको कमजोरीले हाम्रो ऐतिहासिक सम्पत्तिहरु सिद्धियो । पैसा हुनेले धमाधम जग्गा किन्दै त्यसलाई भवनमा परिणत गरे ।

उपत्यकामा निर्मित अधिकांश घर दुई–तीन आना जग्गामा निर्माण भएका छन् । सबै घर एक–अर्कासँग टाँसिएका छन् । खालि जग्गा छोडिएको छैन भने बाटो मिचेर घर बनाइएको छ । बाटो मिचेर घर बनाउँदा मोटरसाइकल र ट्याक्सी छिर्नसम्म हम्मेहम्मे पर्दछ ।
एउटा घरमा पन्ध्रवटासम्म कोठा हुन्छन् । तर हरेकले खाना पकाउनको लागि ग्यासको उपयोग हगर्छन् । कुनै घर त कोठैपिच्छे भाडामा लगाइएको हुन्छ र सबैले खाना पकाउन प्रयोग गर्ने नै ग्यास हो । केही कारणवब ग्यास लिक भयो भने पड्किन सक्छ । ग्यासको सिलिन्डर पुरानो रहेछ भने पनि ग्यास पड्किन बेर लाग्दैन । एउटा कोठामा ग्यास पड्किँदा त्यसको असर अरु कोठाको ग्यासमा पनि देखा पर्छ । सबै ग्यास एकाएक पड्किन थाल्छ । यसरी ग्यास पड्किँदा छिमेकीलाई समेत नोक्सानी हुने सम्भावना धेरै हुन्छ ।

विधुतीय चीजहरुलाई ख्यालख्याल गरी चलाउँदा पनि करेन्ट सर्ट भएर आगो लाग्न सक्छ । पहिलेपहिलेका मान्छेले खाना पकाउनको लागि दाउराको प्रयोग गर्थे । आगो लागे पनि छिमेकीलाई क्षति पुग्ने सम्भावना निकै न्यून हुन्थ्यो । किनकि त्यतिखेर यत्रो बाक्लो बस्ती थिएन । आगो निभाउनको लागि पानी पनि प्रशस्तै पाइन्थ्यो । ताल, ढुंगेधारा, पोखरीहरु थुप्रै थिए । घनाबस्ती नभएका हुनाले खोलानालाका पानीमा ढल पनि मिसिएको थिएन । अहिले त बस्ती पनि निकै बाक्लो भयो । कुनै कारणबस आगो लाग्यो भने आफ्नो मात्रै नभई छिमेकीको समेत ठूलो क्षति हुन्छ ।

विद्युत् सर्ट भएर धेरै मानिसको मृत्यु भएको घटना दिनहुँजसो सुन्नमा आइरहन्छन् । आगो निभाउनको लागि पानी बोक्ने दमकल पुराना भइसकेका छन् । अहिले सञ्चालित दमकल धेरै वर्षअघि खरिद गरेर ल्याइएका हुन् ।

नेपालमा दमकलको संख्या निकै कम छ । भएको दमकलमा पनि थोरै मात्र पानी अट्छ । तर सरकारले कर्मचारी चढ्नलाई सरकारी गाडी किन्न बजेट छुट्याउँछ । बीस लाखदेखि तीन करोड पर्ने गाडी किन्दा सरकार काँप्दैन । नेता र कर्मचारीलाई देश–विदेश घुम्न अर्थ मन्त्रालयले बजेट दिन्छ । वडाध्यक्ष र मेयरले समेत सरकारी गाडीको प्रयोग गर्छन् । सरकारले नै त्यस गाडीमा लाग्ने खर्च व्यहोर्छ । सरकारी गाडी विनाकाम किनेका सवारीमा पर्दछन् । अर्थ मन्त्रालयले सरकारी गाडी किन्नलाई बजेट छुट्याउँछ तर दमकल किन्नको लागि बजेट छुट्याउँदैन ।

महानगरपालिका र वडाको पनि दमकल किन्नतर्फ खासै ध्यान गएको देखिँदैन । आवश्यकताअनुसार दमकल नहुँदा आगो लागेको घण्टौंसम्म पनि नियन्त्रणमा लिन गाह्रो पर्छ । चाहिएको बेलामा दमकल पुग्दैन । यता, धनजनको क्षति भइसकेको हुन्छ । थोरै पानी बोकेका दमकललाई पनि आगो नियन्त्रणमा ल्याउन निकै हम्मेहम्मे पर्दछ । सरकारको लापरबाहीले शहर नै अस्तव्यस्त भइसकेको छ । पैसाको लागि घरधनीले पनि कोठैपिच्छे भाडामा लगाएका छन् । कतिखेर ग्यास पड्किन्छ भन्न सकिन्न ।

हिउदँको बेलामा केही गरी जंगलमा आगो लाग्यो भने सरकारले त्यो आगो नियन्त्रणमा लिन सक्दैन । जंगलमा आगो लाग्दा जनावरहरुको प्राण जान्छ भने काठ, जडीबुटी सबै नष्ट हुन्छन् । जंगलमा लागेका आगो निभाउनको लागि हेलिकप्टर किन्ने कि दमकल थप्ने यसमा सरकारलाई मतलब छैन । जंगलमा लागेको आगो बेलैमा नियन्त्रण गर्न नसक्दा चराचुरुंगी र जनावरहरुको बासस्थान मासिन्छन् । नेपालमा हरेक वर्ष यस्तो घटना घटिरहेको हुन्छ । वर्षैपिच्छे हाम्रा जंगलहरु खरानी भइरहेका छन् ।

सरकारी कर्मचारीको वर्षैपिच्छे तलबभत्ता बढाइन्छ । मेयर, वडाध्यक्षले पनि तलब लिइरहेका छन् । तर जनताको घरमा आगो लाग्दा निभाउने दमकल किन्ने पैसा हुँदैन । सरकारलाई जनताको मतलब नै छैन । सरकारको कमजोरीले हामी जनता मर्न पर्ने ?
चाँडो दमकल पुग्ने हो भने मानिसको ज्यान त बच्छ । जनसंख्या तीव्ररुपले बढ्दा बस्ती झार उम्रेझैँ उम्रेको छ । जनसंख्या र बस्तीको आवश्यकता हेरी दमकल छैनन् । दमकलको पानी सिद्धिएपछि घण्टाको बाटो पार गरेर पानी ल्याउनुपर्छ । सरकारसँग प्रशस्तै हेलिकोप्टर र दमकल हुने हो भने आगो निभाउन सहज हुन्छ ।

एउटा घरमा आगो लाग्यो भने बस्ती नै सखाप हुन्छ । पहिलेपहिले आगो लाग्दा मानिसहरुले ताल, पोखरी, खोलानालाबाट पानी ल्याएर निभाउँथे । अहिले त लिटरको हिसाबमा पानी किनेर ल्याउनुपर्छ । अनि आगो निभाउन कहाँबाट पानी ल्याउने ? सरकारले बेलैमा यसतर्फ ध्यान दिएन भने यसको ठूलो परिणाम भोग्नुपर्छ । अर्थ मन्त्रालयले सरकारी गाडीको पछि लाग्ने होइन । दमकल किन्नको पछि लाग्नुपर्छ । देश–विदेश घुम्न सरकारको आवश्यकता हो त ? न यसबाट जनतालाई फाइदा नै हुन्छ ।

जनताको आवश्यकतालाई सरकारले पहिले नै परिपूर्ति गर्नुपर्छ । सरकारसँग भएका दमकलको ठीक समयमा मर्मत नहुँदा थन्किसकेका छन् । सरकारले दमकल मर्मत गर्नलाई बजेट छुट्याए पनि चालकले बिल–भौचर बनाएर खाइदिन्छन् । दमकलचाहिँ मर्मत भएको हुँदैन । बजेट भने सिद्धिसकेको हुन्छ ।

सरकारी कर्मचारीहरु नयाँ–नयाँ सामान किन्ने, बिगार्ने अनि मर्मत गर्ने नाममा बजेट मिलाएर खाइदिने । यिनीहरुको चलनचल्ती नै यही हो । जसको देखासिकी मर्मत चालकले पनि गरेका छन् । महानगरपालिकाले प्रत्येक वडामा एउटा दमकल र एम्बुलेन्स राख्नैपर्छ । जनताले पनि हाम्रो घरमा विद्युत् र ग्यास छ भनेर ख्याल राख्नुपर्छ । यी दुई चीज विस्फोट भयो भने राज्यको खाँचो पर्छ । आफैंले आगो नियन्त्रण गर्न असम्भवजस्तै छ । आगो लाग्ने ठाउँमा सबैभन्दा पहिला पुग्ने भनेकै प्रहरी र सेना हुन् । तर आगो निभाउन त दमकलनै चाहियो । हातले आगो निभ्दैन् ।

त्यसैले नेपाल सरकारले दमकल खरिद गर्नतर्फ ध्यान देओस् । प्रहरी र सेनासँग पनि दमकलको व्यवस्था हुनुपर्छ । पानी बोक्ने ट्यांकरहरुलाई पनि आगो निभाउने काममा प्रयोग गर्नुपर्छ । यसो गरियो भने आगो नियन्त्रण गर्न सहज हुन्छ । त्यसैले सरकार एवं सम्बन्धित निकायको बेलैमा ध्यान जाओस् ।

– बेनाम, काठमाडौं

प्रतिक्रिया दिनुहोस्