आज अस्ट्रेलिया र पाकिस्तान भिड्दै



लन्डन, (एजेन्सी) ।

यो टी–२० विश्वकप हुनअघि अस्ट्रेलियाली टिमले सन्तुलन बनाइराख्न धेरै चुनौती आएको थियो । प्रतियोगिताका लागि खेलाडी अनुपलब्धि, पाँच लगातार सिरीजमा पराजित हुनु, कप्तान चोटग्रस्त हुनु, कोचमाथि बढेको दबाब, टिम छनोट र लयमाथि प्रश्नहरू तेर्सिएको थियो । जारी टी–२० विश्वकपमा समेत इंग्ल्यान्डसँग हारले प्रतियोगिताबाटै बाहिरिने सम्भावना पनि बढेको थियो । तर, अहिले अस्ट्रेलियाली टिमले प्रतियोगिताको एक मात्र अपराजित टिम पाकिस्तानविरुद्ध सेमिफाइनल खेल खेल्दैछ ।

अस्ट्रेलियाले चार खेल जिते पनि अन्तिम चारको स्थान सुरक्षित भएको थिएन । उनीहरू दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको खेलको नतिजामा निर्भर थिए । दक्षिण अफ्रिकाले यदि फराकिलो जित निकालेमा अस्टे«लिया बाहिरिने पक्का थियो । तर, दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई मात्र १० रनले हराएपछि अस्ट्रेलिया अन्तिम चारमा पुगेको हो ।

पाकिस्तानविरुद्ध खेल्नुअघि अस्ट्रेलियाका कप्तान आरोन फिन्चले फाइनल पुग्न जोडतोड लगाउने बताएका छन् । उनले बताए– ‘क्रिकेटमा कथा परिवर्तन हुन समय लाग्दैन । दश दिनअघि हाम्रो टिमको बुढा भनिरहेको थियो तर, हामी परिपक्व भएको अहिले सबैले महसुस गरिरहेका छन् । मलाई त पहिलो दिनदेखि नै हाम्रो टिममा विश्वास थियो । पहिलो दिनदेखि नै हामी उपाधि जित्न आएका हौं । न्युजिल्यान्ड, वेस्ट इन्डिज र बंगलादेशको यात्रामा टिमले संघर्ष गरेको थियो तर, टिमभित्र एक भरोसा रहेकोले विश्वकपसम्म आइपुग्दा टिमले लय प्राप्त गर्न कुनै कठिनाई भएन ।

त्यसो त कप्तान फिन्चले हाल घुँडाको शल्यक्रियापछि स्वस्थ महसुस गरिरहेको बताएका छन् । फिन्चले टी–२० विश्वकपमा विस्फोटक ब्याटिङ पस्किरहेकोले उनी चोटमा मुक्त हुँदैछन् भन्ने विपक्षी टिमलाई सन्देश दिइरहेका छन् । त्यस्तै, ओपनर डेभिड वार्नरको आईपीएल बिर्सनलायक थियो । तर, टी–२० विश्वकपमा वार्नर पहिलो केही खेलमा जम्न नसके पनि दुई वटा अर्धशतक प्रहार गरेर आपूm लयमा छन् भन्ने स्पष्ट पारेका छन् । पूर्व कप्तान स्टिभ स्मिथले भने आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सकिरहेका छैनन् ।

अस्टे«लियाले ५० ओभरको विश्वकप उपाधि ५ पटक जितले पनि २० ओभरको विश्वकपमा भने उपाधि जित्न सकेको छैन । यसपटक विश्वकप जितेरै जाने फिन्चले अठोट गरिरहेका छन् । उनले भने पनि कि उनीहरू यूएईमा विश्वकप जित्न आएका र जितेरै घर फर्कनेछन् । उता पाकिस्तान भने आफ्नो जितको क्रमलाई यथावत राख्न कोसिसमा हुनेछ । जारी टी–२० विश्वकपमा पाकिस्तान मात्रै अपराजित टिम हो । सुपर १२ अन्तर्गत समूह २ मा रहेको पाकिस्तानले भारत, न्युजिल्यान्ड, अफगानिस्तान, नामिबिया र स्कटल्यान्डलाई हराएको हो ।

पाकिस्तानको ओपनिङ र मध्यक्रमतर्फ निकै बलियो भएको हुँदा जित्ने सम्भावना धेरै छ । पाकिस्तानका कप्तान बाबर आजम र मोहम्मद रिजवानले ओपनिङ साझेदारी निकै सशक्त ढंगले अगाडि बढाएका छन् । उनीहरूको जोडीको ब्याटिङ भारतविरुद्ध हेर्न लायक थियो । बाबर जारी विश्वकपमा २ सय ६७ रन बटुलेर सर्वाधिक रन बनाउने सूचीमा अग्रपंक्तिमा समेत छन् ।

यस्तै, मध्यक्रममा आसिफ अली र अनुभवी व्याटसम्यान सोयब मलिकले पनि आक्रामक ब्याटिङ गरिरहेका छन् । आसिफले अफगानिस्तानविरुद्ध एकै ओभरमा चार छक्का प्रहार गरेर आफूसँग सचेत रहन विपक्षी टिमका बलरलाई चेतावनी दिएका छन् । सोयबले स्कटल्यान्डविरुद्धको खेलमा त १८ बलमै अर्धशतक प्रहार गरेका थिए । पाकिस्तान २००९ को टी–२० विश्वकप विजेता टिम हो ।

प्रतिक्रिया दिनुहोस्