मानव सेवा नै उत्तमसमाज सेवा



समस्त प्राणीमा मनुष्य नै श्रेष्ठ प्राणी भएकाले आफ्नो मात्र हित नहेरेर ऊ समस्त समाजको सहयोगका लागि अभिपे्ररित हुन्छ । ऊभित्र परोपकारी भावना हुन्छ । वास्तवमा परोपकार नै समाजसेवा हो ।

संसारका सबै धर्मशास्त्रको सार खिच्दै भागवत गीतामा श्रीकृष्णको भनाइ छ–‘पुण्य कमाउन चाहन्छौ भने परोपकार गर, पाप कमाउन चाहन्छौ भने अरूलाई पीडा देऊ’ । बाइबल भन्छ– ‘अरूप्रति तिमी त्यो काम नगर, जुन काम आफूप्रति अरूले नगरून् भन्ने चाहन्छौ ।कुनै पनि विकसित समाज सदासर्वदा समाजसेवकहरूको ऋणी रहन्छ । प्राकृतिक प्रकोपको शोक र विपत्तिको घडीमा पीडितको सहयोग गर्न सामाजिक भावनाका मानिस सदैव मैदानमा उत्रिन्छन्, जनताको विषम् र दुःखद घडीमा सबैका लागि उदाहरणीय र प्रेरणाको स्रोत बनेर समाजसेवीहरू क्रियाशील हुन्छन् ।

करोडौं रुपियाँ निजी सम्पत्ति निःस्वार्थ परोपकारमा लगाउने व्यक्ति पनि धेरै छन् । यस प्रकारका उदाहरणीय उदारता भएका समाजसेवीहरूकै कारण समाज टिकेको पनि छ । नेपालीमा उखान छ– ‘मन हुनेको धन हुँदैन, धन हुनेको मन हुँदैन ।’ तर कहिलेकाहीँ यो लोकोक्ति अपवाद पनि हुनसक्छ । साँचो समाजसेवा सदैव स्तुत्य हुन्छ र समाजसेवीहरू सँधै वन्दनीय हुन्छन् । समाजमा धनसम्पत्ति भएका दर्जनौं मानिसहरू पाइन्छन्, तर समाजका लागि उनीहरू एक रुपियाँ मात्रै पनि खर्च गर्न दाँतबाट पसिना चुहाउँछन् ।

हाम्रो शैक्षिक प्रणालीमा यस प्रकारका समाजसेवी भावनालाई प्रोत्साहित गर्ने शिक्षाप्रद विषयबारे बारम्बार चर्चा परिचर्चा हुनुपर्छ । हाम्रा असल समाजसेवीहरूको मनोवृत्ति र आचरणमा हामी भविष्यको नवमानवको झलक देख्न सक्छौं । हाम्रो इतिहासका विभिन्न कालखण्डमा समाज परिवर्तनका महान उद्देश्यप्रतिको चाहना र सम्पूर्ण लगनशीलताले भरिपूर्ण कार्यहरूलाई दोहो-याइएको छ पटक पटक र यी सबै परिवर्तनको केन्द्रमा समाजसेवीहरूको भूमिका रहेका छन् । तसर्थ, समाजसेवाको भावना शिक्षा, स्वास्थ्य, व्यापार, वाणिज्य, खेलकुद लगायत हरेक मानवीय गतिविधिमा अन्तर्निहित रहनुपर्छ ।

कमला शाक्य, पनौती ।

प्रतिक्रिया दिनुहोस्