कोटेश्वर–जडीबुटीमा सुरुङमार्ग बनाइयोस्



काठमाडौंको कोटेश्वर काठमाडौं भित्रिने र बाहिरिने सवारसाधनको पूर्वी मुख्य नाका हो । कलंकी चोकमा ‘अन्डरपास’ निर्माण भए पनि कोटेश्वर चोकमा आकाशे पुल र ‘अन्डरपास’ निर्माणको प्रक्रिया अझै अगाडि बढ्न सकेको छैन । त्यसैले कोटेश्वरमा ट्राफिक जाम नभएको दिन नै हुँदैन । यहाँ सडक विस्तार भए पनि यातायातका साधन बढेपछि दिनहुँ हुने सवारी जामले यात्रुलाई सास्ती भएको छ । ६ लेनको फराकिलो सडकमै घन्टौं हुने सवारी जामले ट्राफिक व्यवस्थापनको सवाल अब सडक विस्तारसँग मात्रै सम्बन्धित नभएको स्पष्ट भएको छ । त्यसैले सरकारले तीनकुनेको मुनिभैरवस्थानदेखि जडीबुटी हुँदै मनहरा खोलापारिसम्म सुरुङमार्ग निर्माण गर्नुपर्ने कुरा सबैतिरबाट उठेको छ ।

तीनकुने–सूर्यविनायक सडक ६ लेनको फराकिलो भए पनि कोटेश्वर–जडीबुटीमा अत्यधिक जाम हुने गरेको छ । सो जाम छिचोल्न बसबाट ओर्लिएर पैदल यात्रा गर्नसमेत यात्रुहरु बाध्य भएका छन् । सर्वसाधारण मात्र होइन, यहाँ एम्बुलेन्स, दमकलसमेत जाममा पर्ने गरेका छन् । ट्राफिक प्रहरीले जामलाई न्यूनीकरण गर्न हरउपाय गरे पनि अत्यधिक सवारी साधन र ‘अन्डर पास’ एवम् ‘ओभर बृज’ नहुँदा व्यवस्थापन गर्न सकिरहेको छैन । यहाँ दायाँ–बायाँ सडक फराकिलो पार्ने काम भइरहेको छ । तर यसले पनि स्थायी समाधान हुने देखिँदैन । त्यसैले स्थायी रुपमा वैकल्पिक उपाय भनेको सुरुङमार्ग नै हुने देखिन्छ ।

बेला–बेलामा यस स्थानमा सुरुङमार्ग निर्माणका लागि अध्ययन कार्य अगाडि बढाएको समाचार आए प्रत्यक्षरुपमा काम शुरु नभएसम्म ढुक्क हुन सकिने अवस्था छैन । दिगो समस्या समाधानका लागि सुरुङमार्ग उत्तम विकल्प हो । त्यसैले यसका लागि शीघ्र काम अगाडि बढाउनुपर्छ । सुरुङमार्ग निर्माण खर्चिलो भए पनि कोटेश्वरको ट्राफिक व्यवस्थापन गर्न आधुनिक र भरपर्दाे विकल्प यही हो ।

– सुमन केसी, लोकन्थली, भक्तपुर ।

प्रतिक्रिया दिनुहोस्