विपक्षी गठबन्धनमा खटपट: प्रदेश १ को सरकारको आयु लम्बियो



हरिहर नेपाल, विराटनगर ।

विपक्षी गठबन्धनमा खटपट र असन्तुष्टिले एमाले नेतृत्वको प्रदेश १ को सरकारको आयु लम्बिएको छ । विशेष गरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्दै अड्को थापेपछि भीम आचार्य सरकारको आयु लम्बिएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुख्यमन्त्रीमा आधा भाग खोजेपछि प्रदेश १ को सरकारको आयु केहि दिन थपिएको छ । विपक्षी गठबन्धनको केन्द्रीय नेतृत्वले प्रदेश १ मा नेकपा एस्लाई मुख्यमन्त्री दिने सहमति गरेको थियो । सोही सहमतिअनुसार मुख्यमन्त्रीबाट भीम आचार्यलाई हटाएर नेकपा एस् का प्रदेश १ का संसदीय दलका नेता राजेन्द्र राईमुख्यमन्त्री बन्ने तयारीमा थिए । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुख्य मन्त्रीमा असन्तुष्टि जनाउँदै प्रदेश सभा बैठक नै स्थगित गर्न माग गर्‍यो ।

सत्ता लम्ब्याउन चाहने सत्तारूढ दलले पनि कांग्रेसले बैठक स्थगित गर्न माग गरेपछि कात्तिक १५ गते सम्मका लागि बैठक स्थगित गर्न माग गर्दै अर्को निवेदन प्रदेशसभा सचिवालयमा पेस ग¥यो । प्रमुख प्रतिपक्ष दल र सत्तारुढ दल दुवैले प्रदेशसभाको बैठक स्थगित गर्न माग गरेपछि अन्ततः प्रदेशसभा बैठक स्थगित भयो । आइतबारको बैठक सञ्चालन भएको भए मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत नपाउने निश्चित थियो । आचार्यले विश्वासको मत नपाएपछि मुख्यमन्त्री राजेन्द्र राई बन्ने थिए । तर, अन्तिम समयमा नेपाली कांग्रेसले मुख्यमन्त्रीमा आधा कार्यकाल दाबी गर्दै अड्को थापेपछि सरकारको आयु लम्बिएको छ ।

अन्तिम समयमा नेपाली कांग्रेसले अड्को थापेपछि गठबन्धनमा आबद्ध नेताहरू अलमलमा परेका छन् । नेकपा एकिकृत समाजवादीका नेता राजेन्द्र राईले आधा आधा कार्यकाल मुख्यमन्त्री बाँड्दा आफूहरूलाई आपत्ति नहुने बताउनुभयो । उहाँले गठबन्धनका केन्द्रीय नेताहरूले निर्णय गरेर पठाए आधा— आधा कार्यकाल मुख्यमन्त्री बाँडफाँट गरे वा एउटै दललाई पुरै कार्यालय मुख्यमन्त्री दिए जे निर्णय भए पनि आफूहरू मान्न तयार रहेको स्पष्ट पार्नुभयो ।

यस्तै नेकपा माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्र आङ्वोले गठबन्धन दलको बैठकमा कसैले पनि आलोपालो मुख्यमन्त्रीको प्रस्ताव नगरेको र गठबन्धन दलमा छलफल पनि नभएको बताउनुभयो । उहाँले सरकार ढालेर नयाँ सरकार गठन गर्ने गठबन्धनका दलविच सहमति भए पनि एक्कासी कांग्रेसले प्रदेशसभा स्थगित गर्न निवेदन दिएपछि आफूहरू अलमलमा परेको उहाँले बताउनुभयो । आङ्वोले कांग्रेसले गठबन्धनको बैठकमा आलोपालो मुख्यमन्त्रीको प्रस्ताव नराखेको स्पष्ट पार्नुभयो ।

यता नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले प्रधानमन्त्री आएका कारण एक दिनलाई वैठक स्थगित गर्न माग गरेको भए पनि सभामुखले चान्समा डान्स गरेर सत्तारूढ दलको चाहनाअनुसार बैठक कात्तिक १५ गतेसम्मलाई स्थगित गर्नुभएको आरोप लगाउनुभयो । कोइरालाले कांग्रेसका कारण सरकारलाई कुनै लाभ नहुने स्पष्ट पार्नुभयो । उहाँले गठबन्धनमा नभई पार्टीभित्र मुख्यमन्त्रीमा आधा कार्यकाल माग गर्ने बताउनुभयो । कोइरालाले वागमतीमा चाहिं आधा–आधा कार्यकालको सहमति गर्ने तर, प्रदेश १ मा चाहिँ नगर्ने पार्टी नेतृत्वको प्रबृत्तीप्रति असन्तुष्टि पनि जनाउनुभयो । कांग्रेस पार्टीभित्रको आन्तरिक किचलो तथा असन्तुष्टिका कारण प्रदेश १ को सरकार परिवर्तन र नयाँ सरकार गठनमा अवरोध पुगेको छ । यही कारण आगामी दिनमा विपक्षी गठबन्धनमा आवद्ध दलहरूवीच सत्ताकिचलोले प्रदेश १ को सत्ता र राजनीति प्रभावित नहोला भन्न सकिने स्थिति देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्