८० हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने



नेपाल समाचारपत्र, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले पहिलो चरणअन्तर्गत हिजो र आज गरेर आफ्नो क्षेत्रका करीब ८० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ ।

आइतबार कामपाका मेयर विद्यासुन्दर शाक्य वडा २१ क्लिनिकबाट कार्यक्रम शुरू गर्दै महानगरले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य सेवामा सेवाग्राहीको आकर्षण बढाउने गरी विश्वसनीय सेवा दिन स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । महानगरले आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिइरहँदा पनि कतिपय सेवाग्राहीहरू पैसा तिरेर निजी क्लिनिकमा गइरहेको जिकिर गर्दै मेयर शाक्यले भन्नुभयो– ‘गत वर्ष हामीले वितरणका लागि तयार पारेको सबै औषधि वितरण भएन । हामी निःशुल्क सेवा दिन्छौँ भन्दा नागरिक किन निजीतिर आकर्षित छन् भनेर समीक्षा गर्नु जरुरी छ ।’

महानगरले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियानका लागि २ सय ७९ केन्द्रमा ५ सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेको छ ।

महानगरकी जनस्वास्थ्य अधिकृत मञ्जु मास्केका अनुसार ०७८ वैशाख ६ र ७ गते सञ्चालन गरिएको कार्यक्रममा ६ महिनादेखि १ वर्षसम्मका ५ हजार ९ सय ९५ जना र १ वर्षदेखि ५ वर्षसम्मका ५३ हजार ५ सय ४३ गरी जम्मा ५९ हजार ५ सय ३८ जनालाई भिटामिन ए खुवाइएकोे थियो । त्यसै गरी ३ सय सुत्केरीलाई भिटामिन ए क्याप्सुल वितरण गरिएको थियो भने ५३ हजार ८ सय ३ जनालाई जुकाको औषधि दिइएको थियो ।

महानगरले हरेक अभिभावकलाई ५ वर्षमुनिका बालबालिकालाई रतन्धो र कुपोषणबाट बचाउन सञ्चालन गरिएको भिटामिन ए कार्यक्रममा सहभागी गराउन आग्रह गरेको छ । यस कार्यक्रममा बालबालिकालाई भिटामिन ए सँगै जुकाको औषधि खुवाइन्छ ।

कार्यक्रममा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइन्छ भने १ देखि ५ वर्षसम्मलाई जुकाको औषधि पनि खुवाइन्छ ।

प्रतिक्रिया दिनुहोस्