बाढीपहिरो पीडितलाई सहयोग रकम उपलब्ध गराउन आग्रह



काठमाडौं, (नेस) ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बाढी पहिरो प्रभावितलाई तत्काल राहत र आवास निर्माणका लागि सरकारले घोषणा गरेको सहयोग रकम यथाशीघ्र उपलब्ध गराउन अनुरोध गर्नुभएको छ ।

असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण गएको बाढी पहिरोको कारण देशभर ठूलो जनधनको क्षति भएको थियो । सहमहामन्त्री महतले प्रदेश सरकार र स्थानीय सरकारले दिने राहत रकम पनि समन्वयात्मक ढंगले वितरण गर्न सम्बन्धित निकायहरूलाई अनुरोध गर्नुभएको छ ।

यही कार्तिक ३ गते बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढीपहिरोमा परी जीवन गुमाएका व्यक्तिका परिवारलाई दुई लाख रुपियाँ आर्थिक सहयोग दिने र एकभन्दा बढी सदस्यको मृत्यु भएको भए प्रतिव्यक्ति थप एक लाख रुपियाँ दिन तथा प्राकृतिक प्रकोपमा परेर आवास गुमाएका, खाद्यान्न बाली तथा जग्गा जमिन र व्यवसाय गुमाएर गुजरा चलाउन समस्या भएका नागरिकको ५ जनाको परिवारलाई १५ हजार र सोभन्दा ठूलो परिवारलाई २० हजार रुपियाँ उपलब्ध गराउने तथा बाढी पहिरोमा परेर घाइते हुने सबैको निःशुल्क औषधोपचार गर्ने निर्णय पनि गरेको थियो ।

सरकारले घर भत्किएर बिचल्ली भएकालाई प्रतिघर ५० हजार रुपियाँ दिने तथा घर पुनर्निर्माणका लागि पहाडमा ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख रुपैया उपलब्ध गराउने निर्णय पनि गरेको छ भने घर निर्माणको लागि जग्गा नभएकाहरूको लागि थप ३ लाख दिने निर्णय पनि गरेको छ । सरकारले बाढी पहिरो र वर्षाबाट भएको क्षतिको आँकलन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयहरूलाई निर्देशन दिनुका अलावा क्षतिग्रस्त सडक, पुल, विमानस्थलको मर्मत सम्भार गरेर सञ्चालन गर्न, विपद् प्रभावित क्षेत्रमा रोग फैलन नदिन, प्रभावितहरूको उद्धार, राहत र पुनस्थापना वा पुनर्वासको व्यवस्थामा प्रदेश र स्थानीय तहबीच समन्वय गर्ने व्यवस्था मिलाउने पनि निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्