बेलायतको सहयोग खोज्दै अर्थमन्त्री शर्मा



काठमाडौं, (नेस) ।

सुदूर पश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पुर्‍याएको जन, धन र पूर्वाधार क्षति पुर्‍याएको सन्दर्भमा अर्थमन्त्री जनार्दन शर्माले बेलायतको सहयोग खोज्नुभएको छ ।

नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटसँग आइतबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले बाढीपहिरोले पुर्‍याएको क्षतिबारे चर्चा गर्दै पुनस्र्थापना, क्षतिपूर्ति र क्षतिग्रस्त पूर्वाधारहरूको निर्माणमा बेलायतको सहयोग खोज्नुभएको हो । मन्त्रालयले जारी गरेको प्रेस नोटमा वार्ता सकारात्मक भएको उल्लेख गरेको छ ।

भेटमा मन्त्री शर्माले बाढीपहिरोले पुर्‍याएको क्षतिमा सहयोग गर्न अन्तर्राष्ट्रिय विकास साझेदारहरूको ध्यानाकर्षणसमेत गराउनुभएको छ । यस्तै भेटमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन २०२१ मा जलवायु परिवर्तनका कारण प्रभावित बनेका नेपाल जस्ता देशहरूले क्षतिपूर्ति पाउने गरी प्रभावकारी नीतिगत व्यवस्था हुनुपर्ने विषयमा पनि छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्