नेपाली लोकरामायणका रूप प्रकाशित



काठमाडौं, (नेस) ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली लोकरामायणका विविध रूप’ प्रकाशन गरेको छ । पछिल्लो समयमा ऐतिहासिक महत्त्वका गुणात्मक मूल्य राख्ने नयाँ तथा पुराना कृतिहरूको लगातार प्रकाशन गर्दै आएको प्रज्ञा–प्रतिष्ठानले यस कृतिमा नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्ममा प्रचलित छओटा लोकरामायणलाई एकै ठाउँमा समेटेर प्रकाशन गरेको छ ।

प्रा.डा. चूडामणि बन्धु र प्रा.डा. महादेव अवस्थी सम्पादक रहेको यस कृतिमा नेपाली लोकजीवनमा विभिन्न भाषा, संस्कृति र भूगोलअनुसार प्रचलित सबैखाले रामकथाका बारेमा विस्तृत जानकारी दिइएको छ । ‘नेपाली लोकरामायणका विविध रूप’ कृतिमा डा. बद्री शर्मा बिनाडीद्वारा सङ्कलित ‘चैत रामायण’, प्रा.डा. होमनाथ सापकोटाद्वारा सङ्कलित ‘नचरी रामायण’, डा. मुकुन्द शर्माद्वारा सङ्कलित ‘चरित्र रामायण’, जनकविकेशरी धर्मराज थापाद्वारा सङ्कलित ‘बालुन रामायण’, डा. कुलराज निरौलाद्वारा सङ्कलित ‘सँगिनी रामायण’ र शिवनिधि जोशीद्वारा लिखित ‘सीता भारत’ गरी छओटा लोकरामायण समावेश गरिएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य विभागको अनुसन्धान तथा प्रकाशन परियोजनाअन्तर्गत तयार गरिएको यस कृतिले रामकथाप्रति चासो राख्ने जोकोहीलाई बौद्धिक खुराक प्रदान गरेको छ । लोकवार्ताअन्तर्गत पर्ने सिङ्गो नेपाली लोकजीवनलाई एकै ठाउँमा समेटेर अमर कृतिका रूपमा अभिलेखीकरण गर्ने प्रयासस्वरूप उक्त विभागीय परियोजनाअन्तर्गत यसभन्दा अगाडि नै लोकसाहित्यसम्बन्धी सम्पूर्ण विधा समेटिएको ‘लोकसाहित्य सिद्धान्त’, नेपालका सातै प्रदेश र ७७ ओटै जिल्ला तथा दार्जिलिङदेखि बर्मासम्म प्रचलित नेपाली लोककथाको सङ्कलन ‘प्रज्ञा नेपाली लोककथा’ र आजभन्दा १०६ वर्षअगाडि रेकर्ड गरिएका र जर्मनीको ध्वनिसङ्ग्रहालयमा सुरक्षित सामग्रीलाई टिपोट गरेर ल्याइएको ‘युद्धबन्दी गोर्खालीका लोकभाका र कथा’ जस्ता ऐतिहासिक महत्त्वका कृतिहरू प्रकाशन भइसकेका छन् ।

नेपाली लोकजीवनमा प्रचलित लोकविश्वासलाई सङ्कलन गरी तयार पारिएको ‘नेपाली लोकविश्वास’ र लोकवार्ताअन्तर्गत पर्ने सम्पूर्ण पद वा पदावलीको जानकारी एकै ठाउँमा समेटिएको ‘लोकवार्ताकोश’ प्रकाशनको तयारीमा रहेको जानकारी विभागीय प्रमुख प्राज्ञ डा. देवी नेपालले दिनुभएको छ । उहाँले हाम्रो लोकजीवनभित्र प्रवेश गर्ने हो भने अनगिन्ती अमूल्य सम्पत्ति प्राप्त हुने र तिनलाई बाहिर ल्याउन सक्ने हो भने सयौं वर्षसम्म विश्वलाई पढाउन पुग्ने ज्ञाननिधि हामीसँग रहेको जानकारी दिँदै ‘नेपाली लोकरामायणका विविध रूप’ कृतिको प्रकाशन त्यसैका लागि गरिएको एउटा सफल प्रयासका रूपमा लिनुभएको छ ।

रामायणका कथालाई विभिन्न शैलीमा प्रस्तुत गरिने नेपाली परम्पराका बारेमा जानकारीसमेत प्राप्त हुने २२४ पृष्ठ र २५० मूल्य रहेको प्रस्तुत कृति नेपाल प्रज्ञा–प्रतिष्ठानको बिक्रीकक्षमा र अधिकृत विक्रेतामार्फत देशभरका पुस्तक पसलमा प्राप्त गर्न सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्