ह्वासिन सिमेन्टसँग मुआब्जा माग



न्युज अफ नेपाल, धादिङ ।

ह्वासिन सिमेन्ट उद्योगसम्म सडक निर्माण गर्दा जनताको खेतबारी प्रयोग गरेकोले सो क्षेत्रको मुआब्जा दिन माग गर्दै बिहिबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापपनपत्र बुझाएका छन् ।

बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर २ ताल्तीमा संचालनको तयारीमा रहेको ह्वासिन सिमेन्ट उद्योगले मलेखुबाट ताल्तीसम्म बाटो बनाउँदा १ सय जना भन्दा बढीको खेतबारी प्रयोग गरेको छ । १० किलोमिटर बाटो बनाउँदा आफूहरुको सडकमा जग्गा परेर मुआब्जा दिनुपर्ने जग्गावालाहरुको भनाइ छ । दलबल सहित प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल लाई बुझाइएको १५ बुँदे ज्ञापनपत्रमा रोजगारी दिनका लागि गाउँबासीलाई प्राथमिकता दिन समेत माग गरिएको सरोकार समतिका राजेन्द्र कँडेलले बताउनुभयो ।

सिमेन्ट उद्योगको रोयल्टी प्रभावित क्षेत्रमा खर्च गर्नुपर्ने, पर्यावरण संरक्षण हुनेगरि उद्योग संचालन गर्नुपर्ने, स्थानीय विद्यालय, मन्दिर, गौचरण, खेलमैदान लगायतका सार्वजनिक स्थानहरुको संरक्षण गर्नुपर्ने, उद्योगका कारण विस्थापित हुने परिवारलाई राहत र पुनस्थापना गर्नु पर्ने माग सरोकार समितिले राखेको छ ।

उद्योग र यसले बनाएको संरचना र सरकारले बनाएका नितिहरु हेरेर जनताको माग सम्बोधन गर्ने विषयमा काम गर्ने प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्