ट्राफिकको स्वास्थ्यप्रति राज्यको दायित्व



ट्राफिक प्रहरी नै स्वस्थ भएनन् भने उनीहरूले दिने सेवा प्रभावकारी नहुने हुँदा राज्यले उनीहरूको स्वास्थ्य र सुविधामा ध्यान दिनु जरुरी छ । यसका लागि सडकमा धुवाँ फ्याँक्ने पुराना गाडी पूरै विस्थापित गराउनुपर्दछ ।

अनावश्यकरुपमा हर्न बजाउनेउपर अझ कडा कारबाही गर्ने र सडक विस्तारको कामलाई चाँडो सम्पन्न गरी धूलोमुक्त बनाउने कुरामा सम्बन्धित निकायको अग्रसरता हुनुपर्दछ । ट्राफिक प्रहरीलाई ड्युटीको समयमा गुणस्तरीय माक्स, चश्मा अनिवार्यरुपमा लगाउने व्यवस्था मिलाउनुपर्दछ । ड्युटीमा खटिएका ट्राफिक कर्मचारीको समय–समयमा निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गरिनुपर्दछ ।

त्यस्तै ट्राफिक प्रहरीका लागि ठाउँ–ठाउँमा सार्वजनिक शौचालयको व्यवस्था गरिनुपर्दछ । पिउने पानीको समुचित व्यवस्था गरी ट्राफिक बिट नभएका ठाउँमा ट्राफिक बिट बनाउनुपर्दछ । ट्राफिक प्रहरीमाथि बेला–बेलामा हातपातसमेत हुने गरेको घटना सुन्न पाइन्छ । यस्तो अवस्थामा ड्युटीमा रहेका ट्राफिक प्रहरीको सुरक्षाको प्रत्याभूति दिलाउने जिम्मा राज्यको हो ।

साथै ट्राफिक नियम उल्लंघन गरेबापत उठाइएको रुपियाँलाई वातावरणीय प्रदूषण नियन्त्रण गर्ने कार्यमा प्रयोग गरी वातावरण स्वच्छ र सफा राख्ने कार्यले प्राथमिकता पाउनुपर्दछ । रातदिन सडक ड्युटीमा खटिएका ट्राफिक प्रहरीको समस्या, आवश्यकता, स्वास्थ्य र सुरक्षाको लागि सम्बन्धित निकायको बेलैमा ध्यान जानु नितान्त आवश्यक छ । जसले गर्दा ट्राफिक प्रहरीमा काम गर्ने जोश, जाँगर र उत्साह रहिरहोस् ।

– सुरक्षा कार्की, ललितपुर ।

 

प्रतिक्रिया दिनुहोस्