कोरोना प्रभावितलाई नगरपालिकाको अनुदान



स्याङ्जा (नेस) ।

कोरोना महामारीका कारण रोजगारी गुमाएका वालिङ नगरपालिकाका युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ । वालिङ नगरपालिका र यूएनडीपीको आर्थिक सहयोग तथा दियालो संस्थाद्वारा सञ्चालित ‘कोभिड–१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ मार्फत अनुदान दिइएको हो ।

रोजगारी गुमाएका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले उद्यमशीलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्ट अप’ का रूपमा २० जनालाई जनही ५० हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । यसअघि, पनि गत वर्ष २० जनालाई ५० हजारका दरले अनुदान उपलब्ध गराएको थियो ।

कोरोना सङ्क्रमणका कारण प्रभावित भई स्वदेश वा विदेशमा रोजगारी गुमाएका वालिङका नागरिकलाई उद्यमशीलतातर्फ लाग्न प्रेरित गर्ने मुख्य उद्देश्यले कोष स्थापना गरिएको र सोही कोषमार्फत सहयोग गर्दै जाने प्रमुख खाँणले बताउनुभयो । नगरपालिकाले व्यवसाय वा उद्यम गर्न चाहने नागरिकले नगरपालिकामा आर्थिक सहयोग माग गरेका आधारमा सहयोग गर्ने नीति बनाई कार्यान्वयनमा ल्याएको जिकिर गर्दै उहाँले भन्नुभयो–‘उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र सञ्चालन कार्यविधि–२०७७’ निर्माण गरी सोही कार्यविधिका आधारमा रहेर स्थापित कोषबाट आर्थिक सहयोग गरिएको हो ।

कोरोना भाइरस प्रभावित भई के गर्ने के नगर्ने अन्योलमा रहेका युवायुवतीहरूलाई उद्यमशीलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्टअप’ का रूपमा गत वर्षदेखि नगद अनुदान दिन थालिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले बताउनुभयो । व्यवसाय तथा उद्यम सञ्चालनका लागि युवामा भएको रचनात्मकतालाई उजागर तथा प्रोत्साहित गर्न प्रेरित गर्ने उद्देश्यले नवप्रवर्तन कोष स्थापना गरी सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणका कारण बेरोजगारी समस्या बढ्दै गएकाले यसमा कमी ल्याउन उनीहरूलाई उद्यमी बनाई आत्मनिर्भर बनाउने मुख्य उद्देश्य रहेकाले कोषमार्फत सहयोग गरिने यूएनडीपी नेपालका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्