सतर्क रहौं, शुभकामना !



बडादशैं २०७८ हाम्रो घर–आँगनमा आएको छ । पृष्ठभूमिमा आशा, उत्साह, उमंग, हाँसो, खुशी, रोदन– व्यक्ति र परिवार पिच्छे फरक भएपनि सदाझैं दशैं आयो । कोरोना संक्रमणलाई पन्छाउँदै र अस्थिर राजनीतिक उहापोहलाई चिर्दै समयले पानो पल्टायो, दशैं आयो ।
हरेक वर्ष शरद् ऋतुको आगमनसँगै प्रकृति पनि दशैंमय हुनेगर्दछ ।

वर्षा, बाढी–पहिरो र प्राकृतिक विपत्तिपछि खुलेको मौसमका साथ दशैं आएको छ । नेपाली जीवनशैलीसँग जोडिएको पर्व दशैंले कामकाजको व्यस्तता, शारीरिक थकानलाई क्षणिक विश्राम दिएको छ । हुनेखाने र भए खाने सबैले दशैंलाई स्वागत गरेका छन्, गर्ने प्रयास गरेका छन् । दशैं परदेशिएका नेपालीका लागि बढी नै संवेदनशील हुनेगर्दछ ।

इन्टरनेट र डिजिटल प्रविधिको युगले परदेशिका आफन्तलाई समेत हातैमा आँखैअगाडि ल्याएपनि सशरीर उपस्थित हुन नसक्दाको पीडा चोटिलो बनेर प्रकट हुन्छ । धर्म, संस्कार र हाम्रा अग्रजले मान्दै आएको दशैंका धेरै पक्षहरुमा परिवर्तन आइसकेको छ । नेपाली संस्कृति, परम्परा, मान्यता, विश्वास र चलनहरुमा विस्तारै प्रविधिको प्रभाव छ ।

दशैंकै लागि ढिकी वा ओखलमा चिउरा कुट्ने, खशी पाल्ने, दशैंमा जाँते, लिंगे र रोटेपिङ हाल्ने, परदेशिएका देखि घर बसेकासम्म जम्मा भएर मिठो–मसिनो एउटै भाँडा र एउटै भन्सामा बनाएर खाने चलन अब प्रायः देखिन्न । ढिकी र जाँतोमा केन्द्रित मातृजातिले मुक्ति पाउनु स्वागतयोग्य पनि छ ।

तर, विगतमा दशैं आम नेपालीका लागि सामाजिक सद्भावको चाड थियो, तर आज मात्र हिन्दुले थेग्नुपरेको छ यसलाई । म तिम्रो बुद्धलाई ढोग्छु तिमी मेरो शिवलाई दाहिना पारेर घुमिदेऊ भन्ने आह्वानसम्म त स्वीकारिएको छ, तर इशु र मोहम्मदका नाममा बाँडिनेहरुलाई निकट ल्याउन थप प्रयासको खाँचो देखिन्छ ।

हामी नेपाली जाति पैसा र प्र्विधिले नभएर कला, संस्कृति र पुर्खाका देनले धनी छौं । यद्यपि हाम्रो धनलाई पूँजीवादले पुरिदिएको छ । डलर र पौण्ड त टाढाको कुरा, भारुलाई पछ्याउन पनि हामीलाई पसिना छुटिरहेका कारण हाम्रो साँस्कृतिक सम्पन्नताको मूल्य घटेको छ । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य देखाउँन हामी आफैले यसलाई उच्च सम्मान दिन सक्नुपर्छ भन्ने वास्तविकतालाई बुझ्न नसकेकै कारण हाम्रा धनको अवमूल्यन भएको छ ।

साँस्कृतिक सम्पन्नतालाई संघीय लोकतान्त्रिक गणतन्त्रसँगै स्थापित गर्नु–गराउनु हाम्रालागि चुनौतीको विषय बनेको छ । हाम्रो सांस्कृतिक मौलिकतालाई पहिचान दिन र यसलाई नगदमा रुपान्तरण गर्न सकेको भए आज हुनेखाने र भए खानेबीच दशैंको जो विभेदको खाडल छ, त्यसको दुरी घट्नेथियो । सबैलाई दशैं आउने थियो ।

प्राकृतिक सौन्दर्य र सामाजिक संस्कृति हेर्नका लागि मात्र पनि विदेशी पर्यटक नेपालमा ओइरिन्छन् । हामीले हाम्रो अमूल्य संकृति जोजाउन सक्यौं भने र योजनाबद्ध विकासका तन्तुहरु जोड्न जान्यौं भने शरद्मा मात्र होइन नेपालीलाई सधैं दशैं आउँनेछ । वर्तमान अवस्थामा कोरोना संक्रमणबाट जोगिएर दुख–सुख दशैं मनाऔं, सुरक्षित रहौं, सुरक्षित रहे र संस्कृतिलाई संरक्षण गर्नसके आगामी दिनमा अझ भव्य दशैं मनाउन पाइने नै छ, शुभकामना !

प्रतिक्रिया दिनुहोस्