वर्षाका कारण अवरुद्ध सल्यानका ग्रामीण सडकहरू अझै मर्मत भएनन्



न्युज अफ नेपाल, सल्यान ।

चाड पर्व नजिकिँदै गए पनि वर्षाका कारण अवरुद्ध भएका सल्यानका ग्रामीण सडकहरू अझै मर्मत हुन सकेका छैनन । बर्षाले क्षतविक्षत भएका सडक नियमित र्ममत नहुँदा  यात्रु  गाडी चढ्नै डराउन थालेका छन् भने ठाउँ ठाउँमा पहिरो र हिलाम्मे सडक हुँदा यातायातका साधनहरू समेत जोखिमपूर्ण भएर सञ्चालन हुने गरेका छन् ।

वर्षाका कारण क्षतविक्षत भएको सल्यानको श्रीनगर  हुँदै छत्रेश्वरी गाउँपालिकाको दह खोला सम्म पुग्ने सडकमा बर्सेनि यात्रुले सास्ती भोग्दै आएका छन् । बर्सेनि यो सडकको अवस्था दयनीय भए पनि मर्मतमा भने कसैको ध्यान पुगेको छैन । सडककै कारण बिरामीले समेत सास्ती भोग्ने गरेका छन् ।

गाउँमा कोही बिरामी हुँदा बोकेर लैजानु पर्ने बाध्यता रहेको दार्मा गाउँपालिकाकी दिलमाया वलीले बताउनु भयो । स्थानीय तहहरूले निर्माण गरेका सडक जीर्ण र मर्मत नहुँदा आफूहरूले सधैँ समस्या भोग्नु परेको बताउनु भयो । उहाँले भन्नु भयो, एम्बुलेन्स आउने समेत बाटो छैन, सबै भन्दा बढी हामीलाई बाटोको समस्या छ, उत्पादन गरेको बस्तु बजार बेच्न लैजाँदा पनि समस्या भएको छ ।

जिल्लाका ग्रामीण सडकहरू मात्र होइन मुख्य राजमार्गको अवस्था झनै दयनीय छ । सदरमुकाम देखि ३ घण्टामा पुगिने दाङ तुलसीपुर अहिले ५ घण्टा भन्दा बढी लाग्ने गरेको छ । ठुला गाडीको त के कुरा, मोटरसाइकल पनि धकेल्दै गुडाउनुपर्ने अवस्था छ ।

जताततै सडक खन्ने काम मात्र हुन्छ, तर स्तरोन्नतिमा स्थानीय सरकारको ध्यान जान सकेको छैन । समयमै जीर्ण भएका सडक नियमित  मर्मत सम्भार नहुँदा दुर्घटनाको जोखिम समेत बढेको गाडी चालक रवीन्द्र श्रेष्ठले बताउनु भयो । पहिरो झरेको र सडक बगेको स्थानमा कामचलाउ मर्मत गरी सवारी सञ्चालनमा ल्याइएको उहाँको भनाई छ । उहाँले भन्नु भयो, ‘खाल्डाखुल्डी गनेर साध्य छैन, सडकमा खाल्डा हो कि खाल्डामा सडक हो छुट्याउन गाह्रो छ ।’

खनिएका सडकहरूमा नियमित गाडी सञ्चालनका लागि पालिका र प्रदेशले सामान्य स्तर वृद्धिका कामलाई अघि बढाई रहेको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताउनु भयो । नियमित गाडी चल्न बढाउनका लागि बजेटको व्यवस्था गरिएको उहाँको भनाई छ । गाउँपालिकाको केन्द्रसम्म नियमित गाडी सञ्चालन गर्न  सीमित बजेटका बाबजुद विगतदेखि लगानी रहेको बताउँदै चाडपर्व अघि नै मुख्य मुख्य सडक मर्मत सम्भार गरी सक्ने केसीले बताउनु भयो ।

जिल्लाको सदरमुकाम सँगै प्रमुख व्यापारिक केन्द्रहरू सँग जोडिएका लान्ती–दह खोला लुहाम–पिमखोला, कालीमाटी–दम्दवाली, रागेचौर–चौरजहारी, खलङ्गा–लक्ष्मीपुर, रामेखोला–ओखरेनी, चाक्लिघाट–कुमाख, लगाएतका ग्रामीण सडकहरुमा पहिरो झरेको छ । तर मर्मतमा भने कसैको ध्यान पुगेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्