व्वनेकुथीका बालबालिकालाई राहत सामग्री वितरण



न्युज अफ नेपाल, काठमाडौं ।

राजधानीस्थित नेपाल भाषाको विद्यालय जगतसुन्दर व्वनेकुथी माध्यामिक विद्यालयले शुक्रबार आफ्नो विद्यालयमा अध्ययनरत् पूर्व प्राथमिक विद्यालयका बालबालिकाहरुलाई कोरोना राहत वितरण गरेको छ ।

विद्यालयले उक्त विद्यालयमा अध्ययनरत् पूर्व प्राथमिक विद्यालयका करिब ५२ जना बालबालिकाहरुलाई कोरोना राहतस्वरुप २५ किलोको एक बोरा चामल, २ किलो दाल, ५ किलो आँटा, २ किलो चिनी, २ प्याकेट नुन, २ लिटर तेल, १ क्रेट अण्डा, १ प्याकेट बिस्कुट, १ प्याकेट ओटमिल, १ प्याकेट कर्नफ्लेक्स, एउटा थर्मस, ६ वटा नुहाउने साबुन, ६ वटा हात धुने साबुन, एउटा स्यानिटाइजर, १ सय ५० वटा मास्क, एउटा टिसर्ट र एउटा स्कुल ब्याग वितरण गरेको छ ।

विद्यालयलाई उक्त राहत सामग्रीका लागि नेपाल बाल सहायता संघ, स्वराज फाउन्डेसनलगायतले सहयोग गरेको हो । कार्यक्रममा स्वराज फाउन्डेसनले विद्यालयको लागि २ वटा अटोमेटिक स्यानिटाइजर मेसिन, कक्षा कोठाहरुमा स्यानिटाइजर छर्कन २ वटा स्प्रे मेसिन, टिस्यु पेपर, थर्मस, भ¥याङ र ट्वाइलेट क्लिनर सहयोगस्वरुप हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा विद्यालयका शिक्षकशिक्षिकाहरुका लागि पनि थर्मस र स्यानिटाइजर वितरण गरिएको थियो । कार्यक्रममा स्वराज फाउन्डेसनका अध्यक्ष विजयसागर प्रधानले साना बालबालिकाहरुलाई कोरोनाको जोखिमबाट जोगाउन यो शैक्षिक सत्रभरिलाई नै पुग्ने गरी साना बालबालिकाहरुलाई मास्क वितरण गरिएकको बताउनुभयो ।

उहाँले ती बालबालिकाको पोषणलाई पनि ध्यान दिंदै राहत सामग्री वितरण गरिएको बताउनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनार रत्न बज्राचार्यले राहत सामग्री कोरोनापीडितलाई सहयोगको रुपमा नभई विद्यालय र विद्यार्थी तथा अभिभावकबीच सद्भाव बढाउने उद्देश्यले वितरण गरिएको जिकिर गर्नुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापिका सुनिता मानन्धरले विद्यालयलाई राहत वितरणमा सहयोग गर्नुहुने दाताहरुप्रति आभार व्यक्त गर्दै मास्क तथा स्यानिटाइजर वितरणले विद्यार्थी तथा अभिभावकहरुमा स्वास्थ्यसम्बन्धी जनचेतना जगाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्