एमालेको नाराबाजीबीच प्रदेशसभा सञ्चालन



बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक आज पनि प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजीबीच सञ्चालन भएको छ । नाराबाजी भइरहे पनि सभामुख पूर्णबहादुर घर्तीले विभिन्न विधेयक प्रदेशसभामा पेश गर्न अनुमति दिनुभएको थियो ।

पार्टीले कारबाही गरेका सांसदद्वय विमला वली र अजय शाहीलाई सभामुखले पदमुक्त नगर्दासम्म सदन चल्न नदिने अडान लिँदै विपक्षी दलका प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेशसभा सञ्चालन गर्न नदिने जानकारी दिनुभयो ।

बैठकमा तीन विधेयक पेश भएका थिए । मुख्यमन्त्री कुलप्रसाद केसीको तर्फबाट पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरीले वन सम्बन्धमा बनेको विधेयक, प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको प्रतिवेदनसहितको विधेयक संसद्मा पेश गर्नुभएको थियो ।

तीमध्ये प्रदेश ५ को प्रदेश पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको प्रतिवेदनसहितको विधेयक बहुमतले पारित भएको छ । विपक्षी दलले प्रदेशसभामा नाराबाजी जारी राखेकाले पुनः ४ बजे अर्को बैठकमा प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत अर्को बजेट ल्याउने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्