मौलिक सिर्जनामा अमृत



सानैदेखि गीत–संगीतमा रुचि राख्ने सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं–२ स्थित भारती गाउँका अमृत भारती अहिले भने गायन क्षेत्रमा जमेमा छन्।

घाँस दाउरा, मेलापात र गोठालो जाँदा पाखापखेरातिर गीत गुनगुनाउने उनको संघर्षको कथा गजबकै छ। गाउँमा हुने चार्डपर्व, जात्रा पूजापाठ, रत्यौलीमा समेत जुहारी गाउने उनले सिन्धुपाल्चोकको सदरमुकाम चौतारमा बसेर प्लस टु अध्ययन गर्ने क्रममा २०७२ सालमा गजलसंग्रह ‘अमृत’ सार्वजनिक गरेर कान्छो गजलकार बने भने प्लस टु सकाएपश्चात् राजधानी आएपछि सांगीतिक यात्रा शुरू गरे।

२०७३ सालमा ‘कन्या राशी’ बोलको दोहोरी गीत बजारमा ल्याएर सांगीतिक यात्रा शुरू गरेका अमृतले त्यसपश्चात् आधा दशक लामो सांगीतिक करियरका क्रममा ‘मन परेको केटी’, ‘भलो हुँदैन’, ‘फेरि आयो दसैँले घेरेर’, ‘मेरो प्यारो सिन्धुपाल्चोक’, ‘मालती’, ‘शुभ दसैँ’, ‘नाचमाया’, ‘बेसारे माया’, ‘रातो खसी’, ‘तिम्रो सिउँदो भर्नी बेलैमा’, ‘ठीकै छ’ लगायत दुई दर्जन भन्दा बढी गीत गाएका छन्। गीत गाउने क्रममा आफ्ना गीतमा शब्द रचना र संगीत पनि उनी स्वयंले तयार पारेका छन्। विशेष गरी, सिर्जना र प्रत्यक्ष दोहोरीमा अब्बल अमृत भेगीय हिसाबले पूर्व काठ क्षेत्रमा जन्मिए पनि प्रायः सबै खालकालोक गीतलाई न्याय दिएर गाउने गर्छन् ।

गीत गायन र सिर्जना गरे वापत उनले सम्मान र अवार्ड समेत चुम्दै आएका छन्। भारतीले ‘मेरो प्यारो सिन्धुपाल्चोक’बोलको गीतबाट क्रमशः जुरी, पब्लिक च्वाइस र उत्कृष्ट गरी तीन अवार्ड जितेर ह्याट्रिक नै गरेका छन्। उनले मौलिकता बोकेका सिर्जनालाई जोड दिने बताए।

प्रतिक्रिया दिनुहोस्