पञ्चवीरसिंह एक्लैले प्रबजितहरुको स्वास्थ्यको लागि १ करोड रुपैयाँ प्रदान



न्युज अफ नेपाल ,काठमाडौं ।

पञ्चवीरसिंह तुलाधरले भिक्षु भिक्षुणीहरुको स्वास्थ्य उपचारको लागि खडा गरिएको स्वास्थ्य उपचार कोषको लागि १ करोड ११ लाख ११ हजार १ सय रुपैयाँ प्रदान गर्नुभएको छ । बुद्धविहारमा आयोजित एक समारोहकाबीच दाता तुलाधरले संघनायक भिक्षु बोधिसेन महास्थविरलाई सो रकमका चेक प्रदान गर्नुभएको हो ।

सो अवसरमा दाता तुलाधरले बुद्ध धर्मको विकास र विस्तारमा पुरा जीवन समर्पण गर्ने भिक्षुणी र भिक्षुणीहरु वृद्धावस्था हुँदा देखापर्ने अनेक रोग र दीर्घरोग हुँदा आर्थिक अभावले उपचारमा समस्या नआओस् भनेर सो रकम प्रदान गरिएको बताउनुभयो । सो रकमको मुलधनमा वर्षेनी सहयोग गर्दै जाने पनि दाता तुलाधरले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो सभामा महासंघका महासचिव भिक्षु कौण्डन्यले बुद्ध धर्मको विकास र विकास पवित्र उद्देश्य राखी भिक्षुभिक्षुणीहरुको स्वास्थ्य उपचारको लागि प्रदान गरिएको रकमले अझ ढुक्क र उच्च मनोबलका साथ बहुजन हिताय र बहुजन सुखायको काममा अझ श्रद्धापूर्वक लाग्ने आत्मविश्वास पैदा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सो कोषको ब्याज निर्देशिका अनुरुप तोकिएको प्रयोजनको लागि मात्र खर्च हुने जनाउँदै सो को विवरण नियमित सार्वजनिक गर्दै जाने पनि बताउनुभयो । सो अवसरमा भिक्षुमहासंघको तर्फबाट संघनायक भिक्षु बोधिसेन महास्थविरले दाता तुलाधरलाई साधुवाद पत्र प्रदान गर्नुभयो ।

सो सभामा कोषको लागि नेपाल परम्परागत बुद्धधर्म संघका अध्यक्ष प्रा. डा. नरेशमान बज्राचार्यंबाट १ लाख रुपैयाँ, स्वयम्भूवीरसिंह र हितलक्ष्मी कंसाकारबाट ४ लाख रुपैयाँ युवा बौद्ध समूह, काठमाडौंबाट १ लाख रुपैयाँ, पूर्ण–मथुरा स्मृति कोषबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ, न्हुच्छेमाया तुलाधरबाट १ लाख ५ हजार रुपैयाँ, सानुबाबु सायमी र भगवान् देवी मानन्धरबाट १ लाख रुपैयाँ, बलराम र उमा चित्रकारबाट १ लाख रुपैयाँ र मोहनदेवी चित्रकारबाट ५० हजार रुपैयाँ र शान्तलक्ष्मी वज्राचार्यबाट ५० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

त्यसैगरी दिवंगतद्वय अमृतसागर र केशलक्ष्मी तुलाधरको नाउँमा १ लाख रुपैयाँ दिवंगत नीरशोभा चित्रकारका नाउँमा ५० हजार रुपैयाँ सम्बन्धित परिवारले प्रदान गरेका थिए ।

अखिल नेपाल भिक्षु महासंघया अध्यक्ष भिक्षु मैत्री महास्थविरको सभापतित्वमा भएको सो सभामा महासंघका उपाध्यक्ष भिक्षु धर्ममूर्ति महास्थविर,संघउपनायक भिक्षु गुणघोष महास्थविर,भिक्षुणी पञ्ञावती, डा. धम्मविजया, दानवती र उपासक उपासिकाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्