विविध कार्यक्रम गरी गान्धी जयन्ती मनाइयो



काठमाडौं, (नेस)

गान्धी जयन्तीको अवसरमा ‘असल जगत्का लागि महात्मा गान्धीको सिद्धान्त’ विषयक कला प्रदर्शनीको उद्घाटन गरिएको छ । कार्यवाहक राजदूत नामग्य खम्पाले नेपाल आर्ट काउन्सिलमा आयोजित कार्यक्रममा सो कला प्रदर्शनीको उद्घाटन गर्नुभएको हो ।
भारतीय राजदूतावास बीपी कोइराला भारत–नेपाल फाउन्डेसनको सहयोगमा सिभाता लभ फाउन्डेसनले सो कला प्रदर्शनीको आयोजना गरेको हो । उक्त प्रदर्शनी सर्वसाधारणका लागि आश्विन १७ देखि २२ गते सम्म खुला रहनेछ ।

सोही अवसरमा नेसनल हस्पिटल तथा क्यान्सर रिसर्च सेन्टरले भारतीय राजदूतावासको सहयोगमा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा ‘स्तन तथा पाठेघर क्यान्सर जाँच एवम् जनचेतना कार्यक्रम’ को आयोजना ग¥यो भने भारतीय राजदूतावासकै सहयोगमा भारतीय नागरिक संघ नेपाल (आईक्यान) ले सोही भवनमा रक्तदान शिविरको आयोजना गरेको थियो । उक्त शिविरमा दूतावासका अधिकारी, भारतीय समुदाय तथा नेपालमा रहेका भारतका मित्रहरूको सहभागिता थियो ।

यसैबीच नेपाल–भारत पुस्तकालयमा पनि एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । अन्तरक्रिया कार्यक्रममा विभिन्न विश्वविद्यालयका विद्यार्थीको उपस्थिति थियो । पुस्तकालयमा महात्मा गान्धीको जीवन एवम् सिद्धान्तमा आधारित एक चलचित्र प्रदर्शन गर्नुका साथै महात्मा गान्धीको विषयमा हाजिरीजवाफ प्रतियोगिताको पनि आयोजना भएको थियो ।

प्रगतिशील भारतको ७५ वर्ष र भारतका जनता, संस्कृति र उपलब्धिहरूको गौरवशाली इतिहासको सम्झना गर्न भारत सरकारले अघि सारेको ‘आजादी का महोत्सव’ को एक कार्यक्रमका रूपमा गान्धी जयन्ती मनाइएको हो ।

 

प्रतिक्रिया दिनुहोस्