बेल्ट एन्ड रोड साहित्यिक सञ्जाल स्थापना



नेपाल समाचारपत्र, काठमाडौँ ।

चिनियाँ लेखक संघ संस्थापक र नेपाल प्रज्ञा–प्रतिष्ठानसमेत सहसंस्थापक रहेको बेल्ट एन्ड रोडसँग सम्बन्धित साहित्यिक संस्था ‘लिटरेरी नेटवर्क अफ द बेल्ट एन्ड रोड’ (बेल्ट एन्ड रोड साहित्यिक सञ्जाल) स्थापना भएको छ । साहित्य, संस्कृति र सभ्यताको अध्ययन–अनुसन्धान, अनुवाद, प्रतिलिपि अधिकारको संरक्षण, प्रकाशन, साहित्यिक एवम् सांस्कृतिक आदान–प्रदान आदि गर्ने उद्देश्यका साथ बेल्ट एन्ड रोड साहित्यिक नेटवर्कको स्थापना गरिएको हो ।

बेल्ट एन्ड रोडसँग जोडिएका सयभन्दा बढी देशका सरकारी प्रज्ञा–प्रतिष्ठानलाई समेटेर उक्त सञ्जालको स्थापना गरिएको हो । सेप्टेम्बर ७ तारिकका दिन बेइजिङमा वेबिनारका माध्यमबाट आयोजित एक समारोहबिच उक्त बृहत् सञ्जाल स्थापनाको घोषणा गरिएको समारोहमा नवगठित संस्थाको सहसंस्थापकका रूपमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएको थियो ।

उहाँले भन्नुभयो– ‘पूर्वीय दर्शनको मूल देश, भगवान् बुद्धको जन्मस्थान र सगरमाथको देश नेपालका तर्फबाट म यस ऐतिहासिक समारोहमा सहभागी सबैप्रति हार्दिक स्वागत अविभादनका साथै बधाई ज्ञापन गर्दछु । सञ्जालको स्थापना आफैंमा एक ऐतिहासिक घटना हो । आफ्ना वैभव र अनुभवको आदान–प्रदान गर्नका लागि यो साझा मञ्च निकै प्रभावकारी हुनेछ मैले मैले विश्वास लिएको छु ।’

उहाँले भन्नुभयो– ‘यो प्रतिस्पर्धी संसारमा हामी एक्लै हिँडेर कहीँ पुग्न सक्दैनौं, आपसी समझदारीका साथ एकआपसमा सहकार्य गरेमा हामी अवश्य पनि लक्ष्यमा पुग्ने छौं । त्यसका लागि यो उपयुक्त मञ्च हुनेछ ।’ चिनियाँ लेखक संघका अध्यक्ष थी निङ समारोहमा उपस्थित हुनुभएको थियो । उहाँले आजको युगमा आपसी सहकार्यको अपरिहार्यता रहेकोमा भन्दै बेल्ट एन्ड रोड साहित्यिक सञ्जालले यस क्षेत्रमा असीमित कार्यहरू गर्न सक्ने बताउनुभयो ।

माओ तुन साहित्य पुरस्कार विजेता ल्यु चेनयुन, गे केइ र अनलाइन साहित्य लेखक थान्जिया सानसाओसहित चिनियाँ प्रतिनिधि लेखकरसाहित्यकारहरू, चीन पब्लिसिङ गु्रप, पिपुल्स लिटरेचर पब्लिसिङ हाउस, पिपुल्स लिटरेचर पत्रिका, राइटर्स पब्लिसिङ हाउसका प्रतिनिधि, अन्य प्रकाशन संस्थाका प्रतिनिधिहरूका साथै चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूको समेत समारोहमा सहभागिता रहेको थियो ।

चिनियाँ लेखक संघका सचिवालय सचिव हु झाङ सेनको अध्यक्षतामा आयोजित कार्यक्रममा भर्चुअल माध्यमबाट नेपाल, संयुक्त अरब इमिरेट्स, पाकिस्तान, प्यालेस्टाइन, फिलिपिन्स, कजाकिस्तान, दक्षिण कोरिया, कम्बोडिया, लाओस, मलेसिया, मंगोलिया, म्यानमार, नेपाल, जापान, थाइल्यान्ड, टर्की, सिंगापुर, इन्डोनेसिया आदि मुलुकको सहभागिता रहेको थियो ।

यसै गरी उक्त समारोहमा इरान, जोर्डन, इजिप्ट, मोरक्को, ट्युनिसिया, बुल्गेरिया, म्यासेडोनिया, पोल्यान्ड, रूस, चेक गणतन्त्र, रोमानिया, सर्बिया, ग्रीस, हंगेरी, डोमिनिक गणतन्त्र, क्युबा, अर्जेन्टिना र चिली आदिको भर्चुअल उपस्थिति रहेको थियो । सञ्जालको सचिवालय बेइजिङस्थित चिनियाँ लेखक संघको कार्यालयमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्