सभा, मेला पर्वमा रोक नलगाएको प्रशासनको स्पष्टोक्ति



नेपाल समाचारपत्र, काठमाडौं ।

गृह मन्त्रालयको चासोपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा सभा, सम्मेलन र धार्मिक/सांस्कृतिक मेला, जात्रा, पर्व गर्न रोक नलगाएको स्पष्ट पारेको छ । कार्यालयले सभा, सम्मेलन र जात्रा पर्व गर्न रोक लगाएको भन्ने सार्वजनिक वृत्तमा चर्चा परिचर्चापछि कार्यालयले सो कुरो स्पष्ट पारेको हो ।

जिल्ला प्रशासन कार्यालयले २०७८/०६/१४ गतेदेखि लागु हुने गरी जारी गरेको आदेशको बुँदा नम्बर १ (क) मा उल्लेखित विषयमा सार्वजनिकरूपमा चासो, चिन्ता र अभिव्यक्तिका सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ । सो आदेशले कुनै पनि प्रकारका सभा, सम्मेलन, धार्मिक र सांस्कृतिक मेला, जात्रा पर्व लगायत चाडपर्व लक्षित अन्य क्रियालापहरू स्वास्थ्य मापदण्ड पालना गरी गर्न/गराउन कुनै बन्देज नलगाएको स्पष्ट पारेको छ ।

कोभिड संक्रमण फैलन नदिनका लागि पालना गर्नुपर्ने स्वास्थ्य मापदण्ड र पूर्व सतर्कताका सम्बन्धमा मात्र आदेश जारी गरिएको भए पनि केही भ्रमपूर्ण समाचार प्रकाशन भएसँगै गृह मन्त्रालयले विज्ञप्ति जारी गरेको थियो । काठमाडौं प्रशासनले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै मन्त्रिपरिषद्को निर्णय एवं प्रचलित कानुनले दिएको अधिकार प्रयोग गरी यसअघि जारी गरिएको आदेशको निरन्तरताको रूपमा सो आदेश जारी गरेको स्पष्ट पारेको थियो ।

सो कुरालाई अतिरञ्जित बनाउँदै आम नागरिकलाई सरकारप्रति नै नकारात्मक भाव पैदा गराउने गरी समाचार सम्प्रेषण भएकोले मन्त्रालयले विज्ञप्ति नै जारी गरेर स्पष्ट पार्नु परेको गृहका एक अधिकारीले बताए ।

साथै जिल्ला प्रशासन कार्यालयहरूले कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय, संक्रमण रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएका अधिकार प्रयोग गर्दै आएका छन् ।

कोरोना महामारी पूर्णरूपमा नियन्त्रणमा आई नसकेको र केही दिनयता संक्रमितहरूको संख्या बढी रहँदा चाडबाडमा थप संक्रमण नबढोस् भन्नका लागि सरकारले आवश्यकता सतर्कता अपनाउन अनुरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्