प्रेस संगठनको नाम परिवर्तन भएन, महाधिवेशन कार्तिक अन्तिममा



न्युज अफ नेपाल, काठमाडौं  ।

नेकपा माओवादी केन्द्रप्रति आस्था राख्ने पत्रकारहरूको संगठनले नाम परिवर्तन गरेर पुरानै नाम यथावत् गरेको छ । तत्कालीन एमाले र माओवादी एकता भएपछि प्रेस चौतारी र प्रेस सेन्टर नेपाल मिलेर प्रेस संगठन बनेको थियो ।

पार्टी विभाजन भएपछि एमालेनिकट पत्रकार संगठनको नाम प्रेस चौतारी भए पनि माओवादी पत्रकारहरूको संगठनको नाम प्रेस संगठन नै रहेको थियो । तर, शनिवार बसेको केन्द्रीय समितिको पूर्ण बैठकले अन्तिम विधान पारित गर्दै संगठनको नाम पुनः प्रेस सेन्टर राख्ने निर्णय गरेको छ ।

बैठकले आगामी कार्तिक अन्तिममा महाधिवेशन गर्ने प्रस्ताव गर्दै त्यसका लागि असोज मसान्तसम्म सदस्यता वितरण तथा नवीकरण, कार्तिक ८ गतेसम्म जिल्ला समन्वय समितिको अधिवेशन र कार्तिक १८ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने गरी मिति तोकेको छ ।

यो निर्णयसँगै केन्द्रीय समिति महाधिवेशन आयोजक समिति तथा सबै समिति अधिवेशन आयोजक समितिमा परिणत भएको संयोजक महेश्वर दाहालले जानकारी दिनुभयो ।

बैठकमा महाधिवेशनबाट पारित गर्ने गरी संगठनको विधान प्रस्ताव गरिएको छ । विधानमा सङ्घ, प्रदेश र स्थानीय पालिकाका शाखाहरूलाई बलियो बनाउने प्रस्ताव छ । पालिका समिति नबन्दासम्म जिल्ला समन्वय समिति नै कामकाजी हुनेछ ।

दाहालको अध्यक्षतामा भएको बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं प्रवक्ता कृष्णबहादुर महराले अब पार्टी पुनः जनतातर्फ फर्कनुपर्ने बताउनुभयो । उहाँले बुर्जुवाको घेरामा बसेर क्रान्ति सम्पन्न नहुने भएकाले अब समाजवादी क्रान्तिका लागि सबै पार्टी कमिटी जनतामा फर्कनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्