मिर्गौला पीडितको नाममा अवैध चन्दा उठाउने पाँच पक्राउ



न्युज अफ नेपाल, पाल्पा ।

मिर्गौला पीडित सहयोग नाममा अवैध रूपमा चन्दा स्वरूप रकम उठाउने पाँच जनालाई पाल्पा प्रहरीले पक्राउ गरेको छ । तानसेनका विभिन्न ठाउँहरूबाट अवैध रूपमा चन्दा सङ्कलन गर्ने ५ जना व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको जनाएको छ ।

तानसेनमा अवैध चन्दा सङ्कलन गरेको सूचनाका आधारमा गोरखा पालुङ टार नगरपालिका –७, का ३६ वर्षीय दीपक भन्ने प्रदीप गुरुङ, मोरङ उर्लाबारी नगरपालिका–९ का ३३ वर्षीय धनबहादुर विश्वकर्मा, मोरङ परी शनिश्चर नगरपालिका ९ का ४३ वर्षीय राजेश खरेल, झापा कनकाई नगरपालिका–४का ३८ वर्षीय केदार विक र झापा कनकाई नगरपालिका ३ का ४६ वर्षीय सूर्यबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई सूचनाको आधारमा खोजतलास गर्दा प्रहरीले तानसेन नगरपालिका –६, बसपार्कको करुवा होटेलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट मिर्गौला पीडित सहयोग लेखेको सहयोग रसिद मध्ये काटेको १३ थान, नकाटेको १० थान, सामाजिक सहयोग नेपाल अभियानको सहयोग रसिदबाट काटेको १३ थान र नकाटेको १९ ठेली थान सहयोग रसिद बरामद गरेको छ ।

यस्तै अवैध रूपमा सङ्कलन गरेको २१ हजार २ सय ५५ रुपैयाँ रकम समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर स्वातीले जानकारी दिनुभयो । पक्राउ परेका पाँचै जनामाथि थप गरी अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्