मोटोपन कसरी घटाउने ?



पछिल्लो समय उमेरको अनुपातमा धेरै तौल अर्थात् मोटोपन भएका मानिसहरुको संख्या बढ्दो छ । दुब्लो पातलो व्यक्ति सधैँ मोटाउन के गर्नुपर्छ भनेर चिन्तामा परिरहेको हुन्छ भने मोटा व्यक्ति कसरी घट्ने भन्ने चिन्तामा हुन्छ ।

शहरिया व्यस्त जीवनशैली बिताइरहेका नागरिकका लागि दैनिक शारीरिक कसरतको समय हुँदैन भने खानपिनमा पनि धेरै विचार पु-याउन सकिरहेको हुँदैन । जसका कारण दैनिक विभिन्न समस्याबाट गुज्रिरहेका छौँ । त्यसमध्ये मोटोपन सबैभन्दा धेरै चिन्ता र चासोको विषय बनेको छ ।

मोटोपन अर्थात् भुँडी लाग्ने समस्याले अहिले धेरै मानिसलाई सताइरहेको देखिन्छ । पश्चिमी संस्कारमा रुमल्लिने हाम्रो बानीले पनि कताकता यो समस्याले सताएको हो कि भन्ने देखिन्छ । यस्तै समस्याको कारण मुटुका रोग, डाइबेटिज तथा विभिन्न अरु स्वास्थ्य समस्या आउन सक्छन् ।हामीले खानपानमा कति ध्यान दियौँ भन्ने कुरा महत्वपूर्ण हुन्छ । मोटोपन घटाउन कस्ता खानेकुरा खाने भन्ने बारेमा हामीले ध्यान दिन सकेका छैनौँ । नेपालमा कुल जनंसख्याको ५–६ प्रतिशत मानिसमा मोटोपन रहेको अनुमान छ । तर, मानिसमा मोटोपन कसरी चिन्ने, मोटोपनको मापदण्ड के हो ? यसलाई कसरी निर्धारण गर्ने ? यी विषयमा जान्नु जरुरी छ ।

माटोपनलाई निर्धारण गर्न बडी–माक्स इन्डेक्स (बीएमआई) विधि अपनाउन सकिन्छ । मानिसको किलोग्राममा नापिएको तौललाई मिटरमा नापिएको उचाइको स्क्वायरले भाग गर्दा निस्कने प्रतिफललाई बडी–माक्स इन्डेक्स भनिन्छ ।मोटोपनका कारण विभिन्न हुन्छन् । त्यसमध्ये एउटा वंशाणुगत पनि हो । यातायातको सुविधाका कारण हाम्रो जीवनशैली परिवर्तीत भएको छ, यसले पनि मानिसमा शारीरिक व्यायाम कम हुँदा मोटोपन बढिरहेको छ । त्यस्तै, जंकफुडको सेवनले पनि मोटोपन बढिरहेको छ ।

मोटोपनलाई हामी रोग भनेर चिन्दछौँ । मोटोपनका कारण मधुमेह, हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप हुने तथा फोक्सो र मुटुका रोग बढ्ने हुन्छन् । मोटोपन भएका २० प्रतिशत मानिसमा डिप्रेसन, १५ प्रतिशतमा डायबेटिज, १० प्रतिशतमा क्यान्सर, ३० प्रतिशतमा मस्तिष्कघात, ५० प्रतिशतमा उच्च रक्तचाप पाइएको छ । मोटोपन कम गर्न विभिन्न उपाय अपनाउन सकिन्छ, जसमध्ये यहाँ केही उल्लेख गरिएको छ ।

 

सुत्नुभन्दा दुई घण्टाअघि खाना खाने:

ढिलो खाना खाने तथा खाना खाएलगत्तै सुत्ने दैनिकीले हाम्रो पेट बढाइरहेको हुन्छ । त्यसैले सुत्नभन्दा दुई घण्टाअघि खाना खाएमा मोटाउने क्रम धेरै कम हुन्छ । सम्भव भए खाना खाएर केही समय हिँड्नु अझै लाभदायक हुनेछ ।

खानाअघि सूप खाने:

हामीले बिहान र बेलुका खाना (दाल, भात, तरकारी) खाने गरेका छौं । खाना सकेसम्म हलुका खालको खाने र खानुभन्दा अघि दाल वा कुनै सूप खाने गर्नुभयो भने पेट घटाउन मद्दत पुग्नेछ ।

खुर्सानी खाने:

खुर्सानीले शरीरमा भएको बोसो कम गराउने भएकाले साँझको खानामा खुर्सानी खानु पेट घटाउनका लागि लाभदाय मानिन्छ । त्यसैले बेलुकाको खाना खाँदा पिरो खुर्सानी खाने बानी गर्नुहोला ।

ग्रीन टी पिउने:

धेरै ग्रीन टी पिउनु स्वास्थ्यका लागि राम्रो मानिदैन । यद्यपि बेलुका खानापछि एक गिलास ग्रीन टी पिउनुभयो भने त्यसमा भएको मोटोपन घटाउने तत्वले तपाईं सुतेको अवधिभर काम गर्ने भएकाले पेट घटाउन सहयोग पुग्छ ।

तनाव नियन्त्रण:

तनावले मानिसलाई रोगी बनाइरहेको हुन्छ । त्यसैले दिनभर तपाईं तनावपूर्ण काम गर्नुहुन्छ भने पनि बेलुका सुत्ने बेला आफूलाई सहज बनाएर शान्त भएर सुन्तुहोस् । जसले तपाईंको मोटोपनालाई नियन्त्रण गर्नेछ ।

मोटोपन घटाउने अर्को उपाय भनेको कार्बोहाइड्रेडयुक्त खानाभन्दा फलफूल, सागसब्जी खानु हो । यस्ता खानेकुराले शरीरमा आवश्यक पोषण भर्नुको साथै मोटोपन कम गर्छ । सकेसम्म बजारमा पाइने जंकफूड, प्रशोधित खानेकुरा, चिल्लोयुक्त भोजन कम गर्नुपर्छ । दिनमा एक वा दुईपटक भोजन गर्दैमा मोटोपन घट्दैन । बरु दिनभरमा ४–५ पटक गरेर थोरै–थोरै भोजन गर्नु उत्तम हुन्छ । एकैपटक धेरै खादाँ मोटोपन बढ्छ ।

मोटोपना बढाउने कारक भनेको तारेको, भुटेको, मसलेदार खानेकुराहरु हुन् । त्यसैले यस्ता खानेकुराको सट्टामा उसिनेको खानेकुरा सेवन गर्नुपर्दछ । दैनिक जीवनमा हामीले अनिवार्य शारीरिक परिश्रमयुक्त काम वा व्यायाम गर्नुपर्दछ । बिहान चाँडै उठ्ने, बेलुकी चाँडै सुत्ने, राति अबेरसम्म नबस्दा पनि मोटोपन कम हुन्छ ।

त्यस्तै एकै स्थानमा लामो समय नबस्ने र छिन्–छिन्मा शारीरिक क्रिया गर्दा पनि मोटोपन कम हुन्छ । मदिरापानका क्रममा गरिने स्न्याक्सको सेवनले मोटोपन बढ्छ । मोटोपना अव्यवस्थित खानपिन तथा शारीरिक कसरतको अभावमा बढ्ने भएकाले तपाईंले खानपिनलाई व्यवस्थित बनाउनु आवश्यक छ । स्वस्थ रहन शारीरिक कसरतको पनि आवश्यकता छ ।

मोटोपनको उपचारका विभिन्न पद्धति अभ्यासमा छन् । यसमध्ये खानपानमा नियन्त्रण र शारीरिक व्यायाम प्रमुख हुन् । मोटोपनका बिरामीले खानपानमा क्यालोरी बढाउने खालका खानको परिमाण घटाउने गर्नुपर्छ । त्यस्तै शुरुमा कम सभय थौरै–थोरै शारीरिक व्यायाम शुरु गरी बिस्तारै बढाउँदै लैजानुपर्छ । खानपानमा नियन्त्रण, शारीरिक व्यायाम र औषधिको सेवन गर्दा कम्तीमा १० प्रतिशतसम्म तौल घटाउन सहयोग मिल्छ ।
– दीक्षा खतिवडा, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्