छाना उडाएका विद्यालय मर्मत हुन सकेनन्



न्युज अफ नेपाल, सल्यान ।

सल्यानमा छाना उडाएका बिद्यालय मर्मत नहुँदा बिद्यार्थी खुल्ला आकाशमुनि पढ्न बाध्य भएका छन । लामो समयदेखि बन्द भएका विद्यालय खुलेपनि हावाले उडाएका बिद्यालयका छाना मर्मत नहुँदा विद्यार्थी खुला आकाश मुनि पढ्नुपर्ने भएको हो ।

हावाले उडाएको वनगाड कुपिण्डे नगरपालिकाको भैरवी निम्न माध्यमिक विद्यालयको छाना र कालिमाटी गाउँपालिकाको जनचेतना प्राथमिक विद्यालयको छाना अहिलेसम्म मर्मत हुन सकेको छैन । २०७७ साल चैतमा आएको हावाहुरीले छाना उडाएको थियो । कोरोना संक्रमणले बन्द भएको विद्यालय संचालन भैसक्दा समेत छाना मर्मत नहुँदा शिक्षक र विद्यार्थीलाई सास्ती भएको छ ।

विद्यालयको आन्तरिक स्रोत नभएको र हावाले छाना उडाएको भवन नै जीर्ण भएकाले मर्मतभन्दा नयाँ भवनको लागि प्रयास गरे पनि बनाउन सफल हुन नसकेको जनचेतना प्राथमिक बिद्यालयका प्रधानाध्यापक हिमलाल भण्डारीले बताउनु भयो । बिद्यालय मर्मतका लागि पटक पटक स्थानिय तह सँग कुरा राखेपनि कुनै ध्यान नदिएको बताउनु भयो ।

विद्यालयको आन्तरिक स्रोत नभएको र हावाले छाना उडाएको भवन नै जीर्ण भएकाले मर्मतभन्दा नयाँ भवनको लागि प्रयास गरे पनि बनाउन सफल हुन नसकेको भैरवी निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्माले बताउनु भयो ।

भवन नै जीर्ण भएकाले मर्मतमा खर्च गर्नुभन्दा नयाँ भवनका लागि नगरपालिकासँग आग्रह गरेको भएपनि सुनुवाइ नभएको उहाँको भनाइ छ । उहाँले भन्नु भयो, ‘कोरोना भाइरसको संक्रमण कम हुँदै जाँदा धेरै स्थानीय तहले विद्यालय सञ्चालन गरिसकेका छन् तर यहाँ मर्मतसमेत हुन सकेको छैन ।’

छाना मर्मत नभएकाले विद्यालय खुलेपछि खुला आकाशमुनि पढाउनुको विकल्प छैन। कक्षा ४ देखि ८ सम्म उक्त भवनमा पढाई हुँदै आइरहेको थियो । छाना नहुँदा भवन घामपानीले दिन प्रतिदिन झन् झन् जीर्ण बन्दै गएको स्थानिय प्रकाश बुढाले बताउनु भयो । वर्षाको पानीले गर्दा दार (काठ) कुहिँदै गएकाले भवन ढल्ने अवस्थामा पुगिसकेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो , ‘लगातारको पानीले जस्तापाता अड्याउन राखिएका सबै काठ पानीले भिजेर कुहिन थालेका छन्। पानी भवनभित्र पर्दा भित्तासमेत कमजोर बन्दै गएको छ । शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति पटक पटक नगरपालिकामा गएर अनुरोध गर्दा पनि कुनै सुनुवाई नहुनु दुर्भाग्य भएको बुढाको भनाइ छ ।

सल्यानका धेरै बिद्यालयमा बर्षाको पानि र हावाले क्षति गरेको छ । कोरोना भाइरसको संक्रमण कम हुँदै जाँदा स्थानीय तहले विद्यालय सञ्चालन गरिसकेका छन् तर बिद्यालय मर्मत गर्न तर्फ भने ध्यान दिएका छैनन । छाना मात्र होईन भवन समेत कामै नलाग्ने गरी भत्किएका छन । शिक्षाजस्तो संवेदनशील विषयमा स्थानीय सरकारले चासो नदेखाउँदा साना बालबालिकामा नकारात्मक प्रभाव पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्