संघीयता सुदृढीकरण गर्न ईयूले सघाउने



कास्की, (नेस) ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र युरोपियनका तर्फबाट नेपालका लागि राजदूत नोना डेप्रेबीच आइतबार मुख्यमन्त्री कार्यालयमा औपचारिक भेटवार्ता भएको छ । भेटवार्तामा राजदूत नोना डेप्रेले नेपालको संघीयता सुदृढीकरण लगायतका क्षेत्रमा ईयूले सहयोग गर्दै आएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी थिइन् ।

उक्त अवसरमा मुख्यमन्त्री नेपालीले युरोपियन युनियनमा आबद्ध मुलुकहरुसँगको नेपालको मित्रता र नेपालको विकासमा ती मुलुकहरुको पुर्‍याएको योगदानको स्मरण गर्दै आगामी दिनमा समेत निरन्तरता पाउने विश्वास व्यक्त गरेका थिए । २०७२ मा गोरखालाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्प पश्चात्को पुनर्निमाणमा युरोपियन युनियनको सहयोग अतुलनीय रहेको मुख्यमन्त्री पोखरेलले बताउनुभएको थियो । नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन र प्रतिस्पर्धात्मक क्षमता वृद्धि, विद्यालय क्षेत्र विकास योजनाअन्तर्गत शिक्षा क्षेत्रको सुधार, बहुक्षेत्रीय पोषणमा रहेको सहयोगले नेपालको विकासमा धेरै फड्को मारेको उहाँको भनाइ थियो ।

अहिलेको महामारीविरुद्ध विश्वलाई एकजुट बनाउन र स्वास्थ्य उपचार तथा भ्याक्सिनमा सबैको पहुँच पुर्‍याउन ईयूको योगदान ठूलो रहेको भन्दै मुख्यमन्त्री नेपालीले सहयोगका लागि युरोपियन युनियन र त्यहाँका जनताप्रति आभार व्यक्त गर्नुभएको थियो ।

त्यस्तै, शासकीय सुधार, न्यायमा पहुँच, कानुनी शासन, मानव अधिकारका क्षेत्रमा आफूहरुले काम गर्दै आएको स्मरण राजदूत नोनाले गर्नुभएको थियो । ‘गरिबी निवारण, बहुक्षेत्रीय पोषण कार्यक्रम हाम्रो प्राथमिकतामा छ ।’ –उहाँको भनाइ थियो ।

कोभिड–१९ विरुद्धको अभियानमा औषधि, उपकरण सहयोग गरेको भन्दै उनले ती सहयोगको प्रभावकारिताका बारेमा ईयूले अनुगमन पनि गरिरहेको बताइन् । यसका साथै शिक्षा क्षेत्रको स्तरोन्नतिका लागि पनि ईयूले लगानी गरेको भन्दै प्रदेशमा के गर्न सकिन्छ भन्ने बारेमा काठमाडौं फर्केपछि छलफल गर्ने राजदूत नोनाले बताउनुभएको थियो ।

भेटवार्तामा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले, प्रमुख सचिव डा. दामोदर रेग्मी सहभागी थिए । राजदूत नोनाले आइतबार नै शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, योजना आयोगका उपाध्यक्ष डा. काफ्लेसँग अलग–अलग भेट गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्