विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन बन्द



दुर्गाप्रसाद शर्मा, पर्वत ।

कोरोना संक्रमण कम हुँदै गएपछि खुलेका विद्यालयमा धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि पर्वतको कुस्मा नगरपालिका–११ को दुई विद्यालयले पठनपाठन बन्द गरेका छन् । सिल्मीस्थित विश्वज्योति प्राविधिक तथा व्यावसायिक मावि र रानीस्वाँरा प्राविमा पठनपाठन बन्द गरिएको हो ।

विगत एक सातादेखिमा विद्यार्थीमा ज्वरो, रुघाकोकी, टाउको दुख्ने, बान्ता हुने जस्ता लक्षण देखिएपछि विद्यालय बन्द गरिएको विश्वज्योति प्राविधिक तथा व्यावसायिक माविका प्रधानाध्यापक गणेश तिमिल्सिनाले जानकारी दिनुभयो । शुरूमा कक्षा–७ का विद्यार्थी बिरामी परेका थिए । त्यसको एक सातापछि शनिबारदेखि अन्य कक्षाका विद्यार्थीसमेत बिरामी परेपछि अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको उहाँले बताउनुभयो । पकुवाको साविक वडा नं ३ रानीस्वाँर क्षेत्रका अधिकांश विद्यार्थी बिरामी परेका छन् ।

बालबालिका तथा विद्यार्थी बिरामी पर्न थालेपछि स्थानीय रानीस्वाँर प्रावि पनि बन्द गरिएको छ । शुरुमा बिरामी परेका विद्यार्थी एक सातासम्म पनि निको भइनसकेका र अन्य विद्यार्थी पनि बिरामी पर्ने क्रम बढेपछि विद्यालय बन्द गर्नुको विकल्प नभएको हो । थप विद्यार्थीमा संक्रमण नफैलियोस् भनेर विद्यालयमा पठनपाठन रोकिएको तिमल्सिनाको भनाइ छ ।

अहिले झण्डै ५० विद्यार्थी बिरामी परेका छन् । उनीहरु सबैको पीसीआर परीक्षणका लागि स्वास्थ्यकर्मी बोलाउन पहल भइरहेको छ । वडाध्यक्ष शिवप्रसाद पौडेलले बिरामी परेका विद्यार्थीको पीसीआर वा एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मीलाई बोलाइएको बताउनुभयो । भाइरल र कोरोनाको लक्षण उस्तैउस्तै भएकाले थप सजगता अपनाउन विद्यार्थीलाई भनिएको छ । उनीहरुले स्थानीय स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गरेर औषधि सेवन गरिरहेको प्रअ तिमिल्सिनाले जानकारी दिनुभयो ।

पर्वत जिल्लामा यसै सातादेखि विद्यालयको भौतिक उपस्थितिमा पढाइ गरिएको छ । यही असोज १ गतेदेखि विद्यालय खुलेका हुन् । विद्यालय खुलेको केही दिनमै बिरामी परेपछि पढाइ प्रभावित बनेको छ । जिल्लामा कोरोना संक्रमण दर भने न्यून छ ।

प्रतिक्रिया दिनुहोस्