मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नहुँदा सीमानाकाका नागरिकलाई सास्ती



उत्तम नेपाल, भद्रपुर ।

सरकारले कोभिड–१९ का कारण बन्द भएका भारतसँग सीमा जोडिएका सबै नाका खुलाउने निर्णय गरे पनि कार्यान्वयन नहुँदा सर्वसाधारणले सास्ती पाएका छन् । असोज ५ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सीमानाका खुला गर्ने निर्णय गरेको थियो ।

सरकारको नाका खुलाउने सरकारी निर्णयले औपचारिकता पाउन ढिलाइ भएका कारण समस्या देखिएको छ । नाका खुलाउने सरकारी निर्णय औपचारिकता पाउन नसकेकै कारण झापाको काँकडभिट्टामा यसअघि आवत–जावतमा गरिएको कडाइ नै यथावत रहेको छ । यता भद्रपुर नाका भने शुरुदेखि नै बन्द रहेको छ । सरकारको निर्णय कार्यान्वयन नहुँदा सीमाक्षेत्रमा यसले अन्यौल सिर्जना गरेको नेपाल एसोसिएसन टुर्स एन्ड ट्राभल एजेन्ट्स नाटा १ नम्बर प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठको भनाइ छ । भारतसँग सीमा जोडिएका सबै नाका खुल्ने निर्णय विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि काँकडभिट्टा र भद्रपुर नाकामा मानिसको भीडसमेत बढ्न थालेको छ । नाका खुलाउने सरकारको निर्णय सुनेर नेपालबाट भारत जाने तथा भारतबाट नेपाल आउने सयौं मानिस नाकाबाटै फर्कन थालेका छन् ।
मन्त्रिपरिषद्ले गरेको निर्णय एक हप्ता बित्न लाग्दासम्म कार्यान्वयनमा आउन सकेको छैन ।

झन्डै दुई वर्ष अघिदेखि बन्द भएको नेपाल प्रवेशको पूर्वीद्वार काँकडभिट्टा र भद्रपुर नाका सञ्चालनमा नआउँदा सर्वसाधारण किनमेल गर्न भारतीय बजारसम्म जान पाएका छैनन् । भारतीय बजारमा दैनिक उपभोग्य सामानहरू नेपालभन्दा निक्कै सस्तोमा पाइने हुनाले दैनिक हजारौं मानिस भारतीय बजारसम्म पुग्ने गर्दछन् । उपचार गर्न र अत्यावश्यक कामका लागि भारत जाने नेपाली नागरिकलाई ७२ घण्टाअघि परीक्षण गरिएको पीसीआरको रिपोर्ट वा कोभिड–१९ विरुद्घको दुवै मात्रा लगाएको खोपको प्रमाणपत्र र नेपाली नागरिक भएको पहिचान खुल्ने सरकारी कागजात अनिवार्य गरिएको छ ।

भन्सार नाका बन्द रहँदा भारतबाट नेपालतिर र नेपालबाट भारततिर आफन्तकहाँ विवाह, पूजा, व्रतबन्ध तथा अन्य पारिवारिक भेटघाटमा आउने भारतीयहरुलाई समेत समस्या भएको बताइएको छ ।

कोभिड–१९ को संक्रमण दर निक्कै कम हुँदै गएपछि नेपाल सरकारले भारतसँग जोडिएका सबै सीमानाका खुलाउने निर्णय गरे पनि कार्यान्वयनमा नआएका कारण होटल व्यवसायीहरु मारमा परेको क्षेत्रीय होटल व्यवसायी संघ मेचीनगरका अध्यक्षका सुरेशकुमार श्रेष्ठले बताउनुभयो ।

कोभिड–१९ को पहिलो लहरबाटै बन्द भएका यी नाका यतिका दिनसम्म पूर्णरूपमा सञ्चालनमा नआएका कारण सीमाक्षेत्रका व्यवसायी मारमा परेको भन्दै क्षेत्रीय होटल व्यवसायी संघ मेचीनगरको अगुवाइमा स्थानीयबासी तथा व्यवसायीहरूले प्रदर्शन नै गरेका थिए भने प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र पठाएको थियो । तर पनि समस्या ज्यूँका त्यूँ रहेको उहाँको भनाइ छ । नाका बन्द हुँदा निकै अप्ठ्यारो परेको भन्दै नाका खुलाउन व्यावसायीहरू पनि प्रदर्शनमा उत्रिन बाँध्य भएको उहाँको भनाइ छ । नेपाल सरकार मन्त्रिपरिषद्को यो निर्णय तत्काल कार्यान्वयमा ल्याउन र नेपाल–भारत सीमानाकालाई खुलाएर जनजीवन सामान्य बनाउन उहाँले सरकारसँग माग गर्नुभएको छ ।

केही दिनअघि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सबै सीमानाका खोल्ने भन्ने समाचार प्रकाशित भएपछि आम नागरिकमा अब नाका खुल्ने रहेछ भन्ने छाप परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक सुनील दाहाल बताउनुहुन्छ । समाचार आएपछि यस नाकाबाट आवत–जावत गर्नेको प्रेसर रहेको र संख्या बढेको उहाँको भनाइ छ । तर, स्थानीय प्रशासनले सबै मानिसलाई भारततर्फ पठाउने गरेको छैन । पत्रपत्रिकामा निर्णयको समाचार आए पनि आधिकारिकरूपमा कुनै लिखित तथा मौखिकरूपमा जानकारी नआएका कारण नाकाबाट सहजरूपमै आवत–जावत गर्न नदिएको दाहालको भनाइ छ ।

स्थानीय प्रशासन अहिले पनि माथिको आदेश पर्खेर बसेको छ । माथिबाट आदेश नआएका कारण काँकडभिट्टा र भद्रपुर नाकामा हिजो जसरी सञ्चालन भएको थियो अहिले पनि त्यसरी नै सञ्चालनमा आइरहेको उहाँको भनाइ छ । नाकामा कुनै परिर्वतन नआएको झापा ट्राभल्स संघका अध्यक्ष नीरबहादुर कार्की ‘नेत्र’ले बताउनुभयो । नाका सहज नहँुदा दुवै देशका नागरिकले सास्ती बेहोर्नुपरेको उहाँको कथन छ ।

प्रतिक्रिया दिनुहोस्