स्याङ्जामा सामाजिक विकास कार्यालयको स्थापना



अमृत अर्याल, स्याङ्जा ।

गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बिगतमा रहेको महिला तथा बालबालिका कार्यालयको अभावलाई पुरा गर्न सामाजिक विकास कार्यालय स्थापना गरेको बताउनुभयो ।

स्याङ्जा सदरमुकाममा सामाजिक विकास कार्यालय स्थापना गर्दै मन्त्री श्रेष्ठले सरकारले स्थानीय तहको अधिकारमाथि हस्तक्षेप नगरेको बताउदै संघ, प्रदेश र स्थानीय तहबिच सहकार्य बिना कुनै विकास र समृद्धी संभव नहुनेमा जोड दिनुभयो ।
गण्डकी प्रदेश सरकार अन्तर्गत शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय मातहत रहनेगरी कार्यालय स्थापना गरिएको हो ।

शिक्षा विकास कार्यान्वयन ईकाई (शिक्षा) रहेको भवनमा यो कार्यालय स्थापना गरिएको हो । विशेषगरी शिक्षा, संस्कृति, जेष्ठ नागरिक, महिला तथा बालबालिका, अल्पसंख्यक, पिछडिएका वर्ग, सामाजिक सुरक्षा, श्रम तथा रोजगार लगायतका क्षेत्रमा काम गर्नेगरी कार्यालय स्थापना गरिएको उहाको भनाई थियो ।

कर्मचारीहरुलाई नागरिकहरु प्रत्यक्ष लाभान्वित हुनेगरी काम गर्न समेत उहाँले निर्देशन दिनुभयो । स्थायी सरकारका रुपमा रहेका कर्मचारीले पूर्ण सहयोग गरेमात्र कार्यक्रमले सफलता पाउने उहाँको भनाई छ ।

कार्यक्रममा पुतलीबजार नगर उपप्रमुख महेश पुरी, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार राना, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका जयनारायण श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, स्याङ्जा जिल्ला अपांग समाजका अध्यक्ष युवराज पराजुली लगायतले कार्यालयको स्थापनासंगै बिशेष संरक्षण गर्नुपर्ने बर्गलाई लक्षित गर्दै स्थापित कार्यालयले तोकिएका लक्ष्य बमोजिमका काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्