विपद् व्यवस्थापनमा युवा परिचालन



नेपाल समाचारपत्र, ललितपुर ।

विपद् व्यवस्थापनमा युवा परिचालनलाई प्रभावकारी बनाउन उनीहरूको भूमिका सुनिश्चित गरिनुपर्ने सरोकारवालाहरूले जोड दिएका छन् ।

राष्ट्रिय युवा महासंघ नेपाल, ललितपुरको शनिबार सम्पन्न पाँचौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक ठूले राईले विपद् न्यूनीकरणमा युवा परिचालनलाई प्रभावकारी बनाउँदै समुदायको भूमिकालाई सशक्त बनाउन संघ, प्रदेश र स्थानीय तहले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

प्रहरी सेवामा रहँदा विपद्सम्बन्धी काममा लामो समय संलग्न रहेका राईले २०७२ सालको विपद् व्यवस्थापनमा युवा परिचालन र समुदायको भूमिकामाथि प्रकाश पार्दै भूकम्पमा शुरू शुरूमा समुदाय, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले नै खोज, उद्धार र राहतको काम गरेको पछि मात्र क्रमशः विदेशी सहयोग आउन थालेको बताउनुभयो ।

उहाँले ‘समुदाय–प्रहरी साझेदारी’, ‘प्रहरी मेरो साथी’ अभियानलाई ललितपुरको सन्दर्भमा प्रभावकारी बनाउन महासंघद्वारा सञ्चालित लागु औषध दुव्र्यसनविरुद्धको सडक नाटकले ठूलो सन्देश दिएको पनि स्मरण गर्नुभयो ।

कार्यक्रममा महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख एवं प्रहरी नायव उपरीक्षक दिनेश घिमिरेले आफ्नो क्षेत्रमा लागु औषध दुव्र्यसनीको समस्या निकै रहेको भन्दै त्यसलाई न्यूनीकरण गर्न महासंघले विगतमा झंै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो – ‘लागु औषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यमा सहकार्य गर्न वृत तयार छ । जागरणका कार्यक्रम गरौं ।’

सो अवसरमा ललितपुर महानगरपालिकाका विपद् व्यवस्थापन शाखाका प्रमुख हरिश्चन्द्र लामिछानेले भूकम्प पीडितहरुलाई परेका विविध समस्याका बारे पुनर्निर्माण प्राधिकरणमा ध्यानाकर्षण गराउन विगतमा महानगरपालिकाले महासंघसँग मिलेर गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो ।

विपद् व्यवस्थापनमा युवाको भूमिका महत्वपूर्ण र प्रभावकारी बनाउन विविध कार्यक्रम गर्दै आएको जिकिर गर्दै शाखा प्रमुख लामिछानेले त्यस कार्यमा महासंघसँग विगतमा झैं सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समारोहमा ललितपुर महानगरपालिका–१६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले युवा अघिकारबारे सचेतना गर्न महासंघसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेवाः पत्रकार राष्ट्रिय दबूका महासचिव एवं संस्थाका सल्लाहकार सुनील महर्जनले स्थानीय प्रहरी प्रशासनलाई जवाफदेही, युवावर्गसहित समुदाय मैत्री अभियान व्यापक र तीव्र बनाउन महासंघले निर्वाह गरेको भूमिकाको चर्चा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्