४ लाख ५० हजारको स्वास्थ्य सामग्री वितरण



डोटी, (नेस) ।

मानवीय सेवामा अनेकौं प्रयास नाम एक गैरसरकारी संस्थाले कोरोना माहामारीका कारण लामो समयपछि सञ्चालन भएका जिल्लाका विभिन्न बिद्यालयमा ४ लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरेको छ । आदर्श गाउँपालिकामा रहेका नमादेव मावि साउदकाँडा, कालीभैरव मावि कोटाञ्जर, प्रभात मावि देहिमाण्डौं, लक्ष्मी मावि काँडी र कालिकास्थान माविलाई सर्जिकल मास्क र स्यानिटाइजर वितरण गरेको हो ।

कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरण होस् भन्ने उद्देश्यले आदर्श गाउँपालिकाका पाँचवटा विद्यालय र त्यहाँको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताउनुभयो । ‘लामो समयपछि विद्यालय सञ्चालन भएका छन्, बिद्यार्थीहरुमा कोरोना जोखिम नहोस् भनेर हामीले स्वास्थ्य सामग्री वितरण गरेका हौं, अन्य पालिकाका विद्यालयमा पनि वितरण गर्नेछौं ।’ –उहाँले भन्नुभयो ।

उक्त संस्थाद्वारा सञ्चालित कोभिड–१९ रिलिफ सपोर्ट र केयर एन्ड रिलिफ परियोजनाअन्तर्गत उक्त स्वास्थ्य सामग्री वितरण गरिएको संस्थाले जनाएको छ । यसै गरी, आदर्श गाउँपालिका–५ मा रहेको लामिखाल स्वास्थ्य चौकीमा ७ लिटरको अक्सिजन कन्सन्ट्रेटर, नेबुलाइजर, थर्मल गन, अक्सिपल्स मेसिन र दुई थान पीपीई सेट वितरण गरिएको छ । मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्रीले कोरोनाबाट मात्र नभई अन्य रोगहरूबाट पनि बचाउने भएकाले शिक्षक, विद्यार्थीको प्रयोगका लागि उक्त सामग्री अति उपयोगी भएको लामिखाल स्वास्थ्य चौकीका इन्चार्ज महेन्द्र सिंहले बताउनुभयो । उहाँ भन्नुहुन्छ– ‘विद्यालय खुलेका छन्, जिल्लामा कोरोना सङ्क्रमणको जोखिम कायमै छ, सबैले सतर्क र सजक हुनु जरुरी भएको छ ।’

विद्यालयले किनेर वितरण गर्न नसकेको अवस्थामा साइन नेपालले प्रदान गरेका स्वास्थ्य सामग्रीले विद्यालयहरुलाई निकै राहत पुगेको विद्यालयका शिक्षकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्