मालिका पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित



गुल्मी, (नेस) ।

गुल्मीको मालिका गाउँपालिका ‘पूर्ण संस्थागत प्रसूति गाउँपालिका’ घोषणा भएको छ । नेपाल सरकारको स्थानीय तह स्वास्थ्य कार्यक्रम सञ्चालन निर्देशिकाबमोजिम शून्य डेलिभरी घोषणाका लागि आवश्यक मापदण्डहरु पूरा भएकाले गाउँपालिकालाई ‘पूर्ण संस्थागत प्रसूति गाउँपालिका’ घोषणा गरिएको हो ।

जिल्लाका १२ वटा स्थानीय तहमाध्ये मालिका पहिलो पूर्ण संस्थागत प्रसूति गाउँपालिका बनेको छ । गत आर्थिक वर्ष ०७७/७८ मा गाउँपालिकाभित्रका सबै वडाका कुल ३ सय ३२ जना प्रसूति भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक वसन्तराज भुसालले बताउनुभयो ।

जसमा २ सय ४२ जना गाउँपालिकाभित्रैका बर्थिङ सेन्टरमा प्रसूति भएका छन् । गुल्मी अस्पतालमा ४२ जना, लुम्बिनी मेडिकल कलेज पाल्पामा २५ जना, लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा १४ जना प्रसूति भएका छन् ।

गाउँपालिकाबाट रिफर गरिएका गम्भीर प्रकृतिका बिरामी तम्घास, पाल्पा र बुटबल तथा मालिकाभित्र ठेगाना भई अन्यत्र बसोबास गर्दै आएका गर्भवतीको संख्या पनि तथ्यांकमा समावेश गरिएको स्वास्थ्य शाखा संयोजक भुसालको भनाइ छ । ‘पूर्ण संस्थागत प्रसूति गाउँपालिका’ घोषणाका लागि गाउँपालिकाले विभिन्न चरणमा योजनाबद्धरूपमा काम गरेको थियो ।

गाउँपालिकामा आर्थिक वर्ष ०७४/७५ सम्म चारवटा मात्रै बर्थिङ सेन्टर थिए । त्यसपछि गत आर्थिक बर्षसम्म चारवटा थप भए । अहिले पालिकाका सबै वडामा बर्थिङ सेन्टर छन् । मालिकाको वडा नम्बर–६ अर्जैमा रहेको गर्भवती महिलाको घरमा हरियो झण्डा राख्ने कार्यक्रम सबै वडामा विस्तार भएको छ ।

गर्भवतीलाई एक क्यारेट अण्डा, सुरक्षित मातृत्वसम्बन्धी सडक नाटक, बहुनिकाय अन्तरक्रिया, विद्यालय स्वास्थ्य शिक्षा जस्ता कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताउनुभयो । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत १ सय ८० आइरन र टीडी खोप लगाएको, वडा नम्बर–२ को च्यानडाडाँ, वडा नम्बर–५ को छाप र वडा नम्बर–६ को अर्जैबेसी कुमालगाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्