व्यापारी हत्या आरोपित चार सार्वजनिक, यसरी घट्यो घटना



विनोदसिंह विष्ट, बैतडी ।

बैतडीको सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौंका व्यापारी ५६ वर्षीय कमलसिंह महराको हत्यामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । सुर्नया गाउँपालिका–५ का रामबहादुर मडै, सुर्नया गाउँपालिका–४ का शंकरसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरालाई सार्वजनिक गरेको हो ।

यसअघि बिहीबार प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको भए पनि अन्य तीन जनाको संलग्नता नदेखिएकाले छाडिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।

सुर्नया गाउँपालिका–४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौंमा मासु पसल गर्दै आएका ५५ वर्षीय कमलसिंह महरा बिहीबार बिहान सन्सेरीमाडौंमै मृत फेला परेका थिए । सन्सेरीमाडौंमा मासु पसल सञ्चालन गर्दै आएका मृतक कमलसिंहको टाउको, छाती र शरीरका अन्य भागमा चोट रहेकाले हत्या भएको आशंकामा प्रहरीले संलग्न रहेका व्यक्तिको खोजी शुरु गरेको थियो ।

अनुसन्धानका लागि खटिएका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली बिहीबार बिहानै घटनास्थलमा खटिएको थियो । प्रहरी निरीक्षक शाही नेतृत्व टोलीले घटना भएको २४ धण्टा नबित्दै घटनामा संलग्न रहेकालाई समात्न सफल भएको हो ।

पक्राउ परेका चारैजना इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा रहेका छन् । उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भई बैतडी जिल्ला अदालतबाट सात दिन म्याद थप गरिएको छ । घटनाबारे थप अनुसन्धान जारी राखेको छ । मृतक महराको शव जिल्ला अस्पतातमा परीक्षणपश्चात् आफन्तलाई बुझाइएको छ ।

यसरी घट्यो घटना

प्रहरीले सार्वजनिक गरेकामध्ये २६ वर्षीय रामबहादुर मडै असोज ७ गते बिहान नागरिकता बनाउन भनी सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालय गएका थिए । गएको ६ वर्षदेखि भारतमा मजदुरी गर्दै आएका रामबहादुर नागरिकता बनाउनकै लागि घर फर्किएका थिए ।

नागरिकता बनाएर सोही दिन घर फर्किने क्रममा साँझ सन्सेरीमाडौंमा १ किलो मासु किनेको र त्यही रहेको होटलमा पकाएर आफूसँगै रहेका रक्सी सेवन गरी केही केही पर रामबहादुर महराले सञ्चालन गरेको होटेलमा बास बस्न भनी गएका थिए । बास बस्न गएका होटेलमा पुग्दा उक्त होटेलमा रक्सी सेवन गरिरहेका शंकरसिंह महरा, हरिशसिंह महरा र मृतक कमलसिंह महरासँग रामबहादुर मडैको विवाद भएको थियो ।

विवाद भएलगत्तै राबहादुर मडैले आफूसँग रहेको फलामको रडले टाउको र शरीरका विभिन्न भागमा हिर्काएर फरार रहेका थिए । फरार रहेका रामबहादुरलगायतका सबैलाई इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोलीले समात्न सफल भएको थियो ।

घटना भएको ठाउँबाट मृतक कमलको घर सय/दुई मिटरको दुरीमा मात्रै रहेको छ । तर, सधै घर नजाने भएकाले बुधबार बेलुका घर–परिवारले पसलमै सुतेको भनेर खोजतलास नगरेको बताइएको छ ।

महराको घरमा श्रीमती, दुई छोरा, एक बुहारी र २ नातिनी रहेका छन् । मृतकका जेठा छोरा मानसिक सन्तुलन ठीक नभएकोमा घरमै रहेका र कान्छा छोरा वैदेशिक रोजगारीको लागि साउदी अरेबियामा रहेका स्थानीय बासिन्दाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्