एकल महिला र जेष्ठ नागरिक सम्मान : ‘धोती र चोलोले शरीरभन्दा मन ढाक्यो’



मोतीराम तिमल्सिना, काभ्रे ।

धुलिखेल नगरपालिका वडा नम्वर १० शारदा बतासेमा एकल महिला र जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडा कार्यालयले बार्षिक कार्ययोजनामा हरेक वर्ष एकल महिला र जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने विषयलाई प्राथमिकतामा राखेका थियो ।

सोहि वडामा १ सय ३५ एकल महिला र ४५ जना जेष्ठ नागरिक छन् । पुरुषलाई कमिज सुरुवाल र महिलालाई चोलो र धोती सहित सम्मान गरिएको हो । ‘स्थानीय तहको निर्वाचन भएको चार वर्षसम्म लगातार वडा कार्यालयले सम्मान गर्दै आएको छ’–वडा अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रवक्ता पुष्प राउतले भन्नुभयो–‘सरकारले हरेक दिनको आवश्यकता पुरा गरिदिन नसक्ला तर दुख र सुखमा साथ दिन सक्छ भन्ने विश्वास दिलाउन सम्मान गरिएको हो ।’

वडा अध्यक्ष पुस्प राउतले नागरिकहरुलाई सहजै सेवा दिने उदेश्यले जवाफदेहिता, पारदर्शिता सहितको सेवा सञ्चालन भएको बताउनु भयो । एकल महिला कुमारी थापाले वडा सरकारले उपलब्ध गराएको चोलो र धोतीले बाहिरी शरिर मात्रै नभई मन नै ढाकेको बताउनु भयो ।

‘हामी एकल महिलाहरुलाई समाजले हेर्ने दृष्टिकोण नै गलत थियो’–एकल महिला कुमारी थापाले भन्नुभयो–‘सेतो कपडा देख्दा अलच्छिनि भनेर हेयको दृष्टीकोणले हेर्ने समाज परिवर्तन भएको छ । सरकारले गरेको सम्मानले मन खुशी भएको छ ।’

एकल महिला बापत प्राप्त हुने सामाजिक सुरक्षा भत्ताले घर परिवार संचालनका लागि सहज भएको बताउँदै एकल महिला र जेष्ठ नागरिकलाई सहयोगका साथै आत्मसम्मान आवश्यक भएको उहाँले बताउनु भयो । अभिभावक भएको महसुस गराउन स्थानीय सरकारले खेलेको भूमिकाको कुमारी थापाले खुलेर प्रशंसा गर्नु भयो ।

जेष्ठ नागरिक खेमराज शाहले धुलिखेल नगरपालिका भित्र नमुना वडाका रुपमा विकास भएको शारदा बतासे वडा नम्वर १० ले जेष्ठ नागरिकको सम्मान गरेर सबै नागरिकहरुको मन जित्न सफल भएको बताउनु भयो । जेष्ठ नागरिकहरुलाई नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निर्वतमान अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रेस सल्लाहकार मोतीराम तिमल्सिनाले जेष्ठ नागरिकको सम्मानले स्थानीय सरकार नागरिकको घर दैलोको सरकार भएको पुष्टी भएको बताउनु भयो । तिमल्सिनाले जेष्ठ नागरिकहरुलाई सम्मान गर्नु भएको थियो ।

वडा अध्यक्ष पुष्प राउतले स्वास्थ्य कार्यक्रम तर्फ जेष्ठ नागरिक क्लिनिक कार्यक्रम, सुत्केरी महिला विशेष कार्यक्रम, गाउँघर क्लिनिक, सुत्केरीको ज्यान, हाम्रो ध्यान, घर दैलो स्वास्थ्य सेवा, अहिले नगरे कहिले गर्ने, हाम्रो स्वास्थ्य हाम्रै हातमा, हाम्रो ज्ञान, आत्मनिर्भरताको शान भन्ने नारा सहितका कार्यक्रम संचालन गरिएको छ ।

गर्भवति महिलाहरुलाई सुत्केरी अस्पताल जाँदा यातायात खर्च, सुत्केरी महिलालाई सुत्केरी मसला, हर्लिक्स, चेवनप्रास, सर्वाेत्तम लिटो पिठो उपलब्ध गराउँदै आएको अध्यक्ष राउतले बताउनु भयो । नगरपालिकाको पहिलो बालमैत्री वडा घोषणा भएको वडा नम्वर १० ले विद्यार्थीहरुलाई छात्रबृत्ति, विद्यालयमा प्रविधि मैत्री शिक्षाका लागि प्रविधि हस्तान्तरण तथा शिक्षकहरुलाई तालिम, प्रोत्साहन र भौति संरचना निर्माणको कार्य गरेको उहँले बताउनु भयो ।

कृषिमा एक टोल एक उत्पादन कार्यक्रम शुरु गरिएको छ । कृषिमा यान्त्रिकरण, उत्पादनमा दुध, मासु प्रभावकारी कार्यान्वन, मेयर कप फूटबल, मेयर कप भलिवलमा सहभागि गराउँदै युवा तथा खेलकुद कार्यक्रममा सहभागिता जनाएको छ ।

उत्कृष्ट खेलमैदान निर्माणका लागि डिपिआर तयार, उद्यमी महिला उत्थान कार्यक्रम, छोरी बुहारी शिक्षा कार्यक्रम, महिला मैत्री सहकारी, विपन्न असहाय, टुहुरा बालबालिकाको आधारभुत आवश्यकता सम्बोधन, बालश्रम उल्मुलन, बालमैत्री शासनका ५१ वटा सूचक अवलम्वन गर्ने अध्यक्ष राउतले बताउनु भयो ।

अपाङ्ग, जेष्ठ नागरिक कार्यक्रम, पशुपक्षी विकास, सहकारी विकास, गरिवी न्युनिकरण र रोजगार, पर्यटन विकास, वन तथा वातावरण तथा विपद ब्यवस्थापन, सूचना, सचार, उर्जा प्रविधि, सडक पूर्वाधार, अन्य पूर्वाधार र धर्म, संस्कृति र परम्पराका बारेमा वडाले विशेष ध्यान दिएको अध्यक्ष राउतले जानकारी दिनु भयो । कार्यक्रममा वडा सचिव इश्वर सापकोटा, वडा सदस्यहरु, कर्मचारी तथा स्थानीय विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्