गाउँमा खानेपानी पुगेपछि स्थानीयवासी खुसी



डोटी ।

जिल्लाको जोरायल गाउँपालिका–४ खैगाडमा वर्षौंपछि खानेपानी पुगेपछि यहाँका स्थानीयवासी निकै खुसी भएका छन् । गाउँपालिका, स्थानीयवासी तथा विदेशी दातृ निकाय युनिसेफको आर्थिक र प्राविधिक सहयोगमा उक्त वडामा सुरक्षित खानेपानी विस्तार गरिएसँगै गाउँमा खुसियाली छाएको हो ।

उक्त गाउँलाई एक कार्यक्रमबीच ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ गाउँका रुपमा घोषणा गरिएको हो । युनिसेफको रु ३६ लाख ३२ हजार ६४३.२०, जोरायल गाउँपालिकाको रु १६ लाख र रु १२ लाख ६ हजार ७९.३४ बराबरको स्थानीय जनश्रमदान गरी कूल रु ६४ लाख ३८ हजार ७२२.५४ को लागतमा खैगाडका एक सय चार घरधुरीमा खानेपानीका धारा निर्माण सम्पन्न भएको छ ।

उक्त वडा प्रदेशकै पहिलो ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा भएको युनिसेफ सुदूरपश्चिम प्रदेशका रमेश दाहालले जानकारी दिनुभयो ।

घरघरमा खानेपानीका धारा निर्माण गरिएपछि खैगाड गाउँका कम्तीमा पनि ६२४ जना नागरिक प्रत्यक्ष लाभान्वित भएको खैगाड खानेपानी उपभोक्ता समितिका अध्यक्ष भजनसिंह मडैले बताउनुभयो । खानेपानी विस्तारसँगै खैगाडमा विद्युत विस्तारका लागि पहल गरिनुपर्ने स्थानीयवासीले माग गरेका छन् ।

खैगाड क्षेत्रमा मोबाइल नेटवर्क कमजोर भएकाले टावर जडान गर्न नेपाल टेलिकमको कार्यालय अत्तरियासँग पहल भइरहेको वडाध्यक्ष दिनेशकुमार मल्लले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्