प्रेस काउन्सिलले सुरू ग-र्यो ‘इयर बुक’



काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले नेपाली पत्रकारिताको इतिहासमा पहिलो पटक अङ्ग्रेजी वर्ष पुस्तक ‘इयर बुक’ को प्रकाशन गरेको छ । काउन्सिलको ५२ औं बार्षिकोत्सवका अवसरमा राष्ट्रपति भवन शितल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले बुक सार्वजनिक गर्नुभयो ।

‘इयर बुक’ मा पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्था, नेपाली मिडियामा गलत सूचनाका कारण आचारसंहिता र विश्वसनीयतामा चुनौती, कोभिड–१९ ले पत्रकारितामा ल्याएको सङ्कट, नेपालमा प्रेस स्वतन्त्रताको अवस्थाको दृश्यवालोकन, नेपाली मिडियामा सामाजिक विविधता र आचारसंहिता, मिडियामा महिलाको उपस्थिति लगायतका १४ वटा विषयमा अनुसन्धानमूलक लेख रहेका छन् ।

कार्यक्रममा कानुनमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले काउन्सिल पत्रकारहरुको अविभावकीय संस्था भएको भन्दै ‘इयर बुक’ प्रकाशनले थप परिपक्वता देखाएकोमा खुशी ब्यक्त गर्नुभयो । उहाँले समयानुकूल पत्रकारिताको विकासका लागि काउन्सिलले गरेको कामको प्रशंसा गर्नुभयो ।नेपाली पत्रकारिताका विभिन्न घटना, चुनौती, समस्या र समाधानका उपायहरूसहितको पहिचान गराउने अभिप्रायले अङ्ग्रेजी वर्ष पुस्तक ‘इयर बुक’ को प्रकाशन थालिएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताउनुभयो । “नेपालको मिडियाबारे यो नै पहिलो ‘इयर बुक’ हो, यसमा मिडिया क्षेत्रका विभिन्न विज्ञहरूले महत्वपूर्ण विषयमा अनुसन्धानमूलक प्रस्तुति राखेका छन्”– अध्यक्ष बस्नेतले भन्नुभयो ।‘इयर बुक’ लाई लक्ष्मणदत्त पन्त, लिलाराज उपाध्याय र कमलदेव भट्टराईले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्