सरकारभन्दा शक्तिशाली यातायात व्यवसायी



सरकारभन्दा शक्तिशाली भएका छन् यातायात व्यवसायी । दशैँको अग्रिम टिकट खुल्ने निश्चित छैन । दशैँ मान्न घर जाने जनताले दुःख पाउने भए । दशैँलाई लक्षित गरेर खोल्ने भनेको अग्रिम टिकट नखुल्ने स्थिति आएको छ । जसले दशैँको अग्रिम टिकट खोल्ने भनेर यातायात व्यवस्था विभागसँग सहमति जनायो त्यस महासंघसँग साना–ठूला गाडी छैनन् । असोज १० गतेदेखि खुल्ने भनेको अग्रिम टिकटको भविष्य निश्चित देखिरहेको छैन ।

सार्वजनिक केन्द्रीय महासंघसँग न बस छ, न त सानातिना माइक्रो बस, टाटा सुमो, जम्बो हायस नै छ । जुन सवारीसाधन लामो रोडमा चल्छन् त्यसको सदस्यता यस महासंघसँग छैन । यो महासंघ त राजनीति गर्न र पैसा कमाउन मात्र जन्मेको महासंघ हो । केपी ओलीको सरकारले २०७५ वैशाख ४ गतेको मन्त्रिपरिषद्को बैठकले संस्था ऐन २०३४ अन्तर्गत दर्ता भएका ३०७ वटा यातायात समितिहरु खारेज गर्‍यो । सरकारले कम्पनीमार्फत गाडी चलाउने निर्णय गरिसकेपछि २०७६ सालमा सार्वजनिक केन्द्रीय महासंघको जन्म भयो ।

सार्वजनिक केन्द्रीय महासंघको जन्म भएको धेरै भएको छैन । यो महासंघको हालको अध्यक्ष डोलनाथ खनाल, महासचिव भरत नेपाल र दर्ता गर्दाखेरिको अध्यक्ष होमप्रसाद अधिकारी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा विगत ४५ वर्षदेखि एकाधिकार जमाउँदै आएका व्यक्ति हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ संस्था ऐन २०१८ अन्तर्गत दर्ता भएको छ । यो महासंघले देशभरिको यातायात व्यवसायीको आवाज उठाउने काम गर्छ । जनता ठग्ने, सरकार गलाउने र सिन्डिकेट लगाउने काम यही महासंघले गरिरहेको छ ।
सरकारभन्दा यातायात व्यवसायी शक्तिशाली छन् । यही पुरानो नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ कार्यवाहक दिनेश भण्डारी स्वर्गीय भइसकेपछि डोलनाथ खनाल अध्यक्ष भएका हुन् । होमप्रसाद अधिकारी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा २५ वर्ष महासचिवको पद सम्हालेका व्यक्ति हुन् ।

यिनीहरुलाई जनता ठग्न राम्रोसँग आउँछ । यत्रो वर्षदेखि सरकार गलाएका यिनीहरुलाई सरकार कसरी गलाउनुपर्छ भन्ने बारे राम्ररी ज्ञान छ । मरेको मान्छेको आफन्तलाई क्षतिपूर्तिबापत दिनुपर्ने रकम पनि यिनीहरुले बिमा कम्पनीसँग मिलेर हत्याउने कामसमेत नगरेका भने होइनन् ।

२०७४ माघ १६, १७ र १८ गते चितवनमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको चुनाव भएको थियो । डोलनाथ खनाललाई योगेन्द्र कर्माचार्यले हराएका थिए । त्यस्तै, भरत नेपाललाई सरोज सिटौलाले नराम्ररी पछारेका थिए । चुनाव हारेको झोकमा सार्वजनिक यातायात केन्द्रीय महासंघको स्थापना भयो । रिसईबीको कारणले गाडी नै नभएकाहरुले कम्पनीको निमित्त महासंघ दर्ता गरे । अहिले एउटा कम्पनीलाई आफ्नो महासंघको सदस्य बनाएको बापत शुरुमै ५ देखि २० हजारसम्म रकम असुल्ने गरेको छ । महिनैपिच्छे १००० देखि ५००० सम्म लेभी उठाउने गरेका छन् ।

सार्वजनिक केन्द्रीय महासंघले आफ्नो महासंघसंग १०० वटा कम्पनीको सदस्यता छ भनेर दाबी गर्छ । तर साँच्चिकै भन्ने हो भने यस महासंघसँग एक दर्जन पनि कम्पनीको सदस्यता छैन । महासंघ खोलर सरकारलाई घुँडा टेकाउने, राजनीतिक पार्टीको झोला बोक्ने र पैसा कमाउने यिनीहरुको उद्देश्य नै यति हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अनुसार यो महासंघसँग २९४ वटा कम्पनीको सदस्यता छ । यसले पनि साना र ठूला गाडी हरेर एउटा कम्पनीलाई आफ्नो महासंघको सदस्य बनाएको बापत शुरुमै ५ देखि २० हजारसम्म रकम असुल्ने गरेको छ । महिनैपिच्छे १००० देखि ५००० सम्म लेभी उठाउने गरेको छ । पहिले ३०७ वटा समिति थियो । अहिले २९४ वटा कम्पनी छ भनेर मिडियाबाजी गरेर हिँडेका छन् । तर यिनीहरुसँग कतिवटा कम्पनीको सदस्यता छ, सत्यतथ्य कसैलाई पनि थाहा छैन ।

यातायात व्यवस्था विभाग, ट्राफिक महाशाखा र यातायात व्यवसायीका केही नेताहरु राखेर केही दिनअघि दशैँको अग्रिम टिकट बुकिङबारे छलफल भयो । सार्वजनिक केन्द्रीय महासंघले असोज १० गतेबाट टिकट खोल्ने भनेर सहमति जनायो । तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफ्नो मागहरु पूरा नभएसम्म टिकट नखोल्ने ढिपी ग¥यो । आखिर कुनचाहिँ महासंघ हो । डोलनाथ खनालको भर्खरै जन्मेको महासंघ कम्पनी ऐन २०६३ दफा ९ अन्तर्गत उद्योग मन्त्रालयमा दर्ता भएको छ । त्यस्तै, योगेन्द्र् कर्माचार्यको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ संस्था ऐन २०१८ अन्तर्गत सिडियो कार्यालयमा दर्ता छ । झगडा गर्छन् यी दुई महासंघ, दुःख पाउँछन् जनताले ।

यी दुई महासंघको ‘तँ रानी कि म रानी कसले भर्छ पानी’ भन्ने होडबाजीले गर्दा यातायात क्षेत्रमा कहिल्यै सुधार नआउने भयो । यातायात क्षेत्रको अवस्था हिजो पनि त्यस्तै थियो, आज पनि त्यस्तै छ । यातायात क्षेत्रमा भएको बेथिति कहिल्यै पनि नहट्ने भयो ।

साथै जनताले यातायात क्षेत्रमा परिवर्तन आएको देख्नसमेत नपाउने भए । सरकारबाट पनि यस्ता फोहोरमैला हटाउन कुनै पनि पहल भएको छैन । सरकारसमेत यही फोहोर लत्पतिसकेको छ । होइन भने यातायात क्षेत्रमा भएको सिन्डिकेट किन हटेन ? सिन्डिकेट लगाएर जनता ठग्ने नेता पनि यिनै हुन् । अहिलेका कम्पनीको नेता पनि यिनै हुन् । अनि कहाँ हट्यो त सिन्डिकेट ? सिन्डिकेट लगाउने पनि तिनै नेता अनि हामी जनतालाई सेवा–सुविधा दिन्छौं भन्ने पनि तिनै नेता । यातायात व्यवस्था विभाग र यातायात मन्त्रालयसँग सोच्ने दिमागको अभाव भएको प्रस्टै देखिन्छ ।

यातायात व्यवस्था विभागले असोज १० गतेदेखि दशैँको अग्रिम टिकट खोल्ने भनेको छ । तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यस निर्णयमा आफूहरु सहमत नभएको जनाइसकेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफ्नो माग पूरा नभएसम्म हामी कुनै पनि हालतमा टिकट खोल्दैनौं भनिसकेको छ ।

यो वर्ष पनि दशैँमा अग्रिम टिकटको विषयलाई लिएर सरकार र यातायात व्यवसायीबीच गलफती हुने निश्चित छ । यातायात व्यवसायीहरुको माग पनि हरेक वर्ष दशैँमै आएर ब्युँतिन्छ । दशैँको मुखमा आएर जहिले पनि जनताले दुःख पाउने गरेका छन् । यसमा ट्राफिक महाशाखा र यातायात व्यवस्था विभागको ध्यान जाओस् ।

– अनुसा थापा, भक्तपुर ।

प्रतिक्रिया दिनुहोस्