रोगको भन्दा मानिसको बढी डर भयो



मानव सम्यताको इतिहासका विभिन्न कालखण्डमा मानव जातिले महामारीविरुद्ध लडेको छ । मानवीय र भौतिक क्षतिका बाबजुद पनि मानिसले संकटमाथि विजय हासिल गर्दै मानव सभ्यताको यात्रालाई अगाडि बढाइरहेको छ । एक्काइसौँ शताब्दीमा आइपुग्दा मानिसका ठूला–ठूला वैज्ञानिक अविष्कारले चमत्कार गरिरहेको छ, तर पनि बेला–बेलामा आइरहने माहामारीले मानव सभ्यताको यात्रामा पटक–पटक ठेस लाग्ने गरेको छ । विश्वमा अझै पनि मानव जाति पूर्णरुपमा संकटमुक्त नभएको सन्देश प्रकृतिले दिइरहेको छ ।
मानिसले औषधि विज्ञानमा चामत्कारिक उपलब्धि हासिल गरिसक्यो, तर क्यान्सर, कोरोनाजस्ता केही रोगहरुको अझै पनि औषधि पत्ता लगाउन सकेको छैन । सरुवा रोग भएका कारण क्यान्सरभन्दा कोरोना बढी खतरनाक देखिएको छ । यसबाट बच्ने एकमात्र उपाय रोग लाग्नुपूर्वको सावधानी र रोग लागिसकेपछिको अनुशासित जीवनशैली तथा कीटाणुविरुद्ध लड्ने शक्तिवद्र्धक खानपान हो । यति गरेपछि यस्ता रोगबाट बरु बच्न त सकिएला तर मानवता हराएको मान्छेबाट भने बच्न नसकिने भयो । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या सम्झँदा रोगको भन्दा मानिसको बढी डर भयो ।
– जीवनकुमार श्रेष्ठ, इनरुवा, सुनसरी ।

पाठक पत्र
वृद्धवृद्धा र औषधि सेवनका कुरा
यति बेला रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेबित्तिकै सबैलाई डर लागिहाल्छ कि अब कोरोना लाग्यो । यस्ता लक्षण देखिनासाथ नडराई नागरिक स्वास्थ्य संस्थामा जानुपर्छ । तर यहाँ त्यसो हुन सकिरहेको छैन । सामान्य तरिकाले टाउको दुख्ने, खोकी लाग्ने र हल्का ज्वरो आउनेबित्तिकै टाइफाइडको औषधि खाने चलन रहेको बताइएको छ ।
टाइफाइडको जाँच गरेर चिकित्सकको सिफारिसअनुसार पाँच दिनसम्म बिरामीले औषधि सेवन गर्नुपर्छ । यति बेला यस्ता लक्षण देखिनासाथ सीधै मेडिकलमा गएर टाइफाइडको औषधि खानेको संख्या उल्लेख्य रहेको बताइन्छ ।
यस्तै अर्को प्रमुख समस्याका रुपमा ज्येष्ठ नागरिकका लागि औषधिको अनावश्यक प्रयोग पनि रहेको छ । नेपालको सांस्कृतिक र सामाजिक पक्ष हेर्दा, ज्येष्ठ नागरिकहरुलाई उच्च आदर–सम्मान दिने परम्परा थियो । यो संस्कार अझै पनि हामीमाझ रहेकाले वृद्धहरुलाई बढी आदर–सम्मान दिने गरिन्छ । तर पछिल्ला केही समययता शिक्षा तथा रोजगारीका लागि घरबाहिर जानुपर्ने बाध्यता बढ्दो छ । जसको कारणले गर्दा परिवारका सदस्यहरुले आफ्नो बुबा–आमालाई चाहिएजतिको हेरचाह गर्न वा उनीहरुसँग बस्न सक्दैनन् ।
विश्वका लगभग ६० प्रतिशत ज्येष्ठ नागरिकहरु लामो आयुको लागि र स्वस्थ रहनको लागि औषधिको भर परिरहेका छन् । तर, त्यही औषधिको प्रयोगमा धेरै लापरबाही हुने गरेको छ । शुरुमा लापरबाही ढंगले औषधि प्रयोग गर्दाको नतिजाबारे खासै वास्ता गर्दैनन् । नेपालमा पनि औषधिको अनुचित प्रयोगको समस्या धेरै छ । यस्तो किसिमको समस्या धेरै भए तापनि यसलाई बेवास्ता गरिएको छ ।
यस्तो औषधिको अनुचित प्रयोगले गर्दा नेपालका धेरै ज्येष्ठ नागरिकहरुलाई प्रभाव परेको छ । तथापि त्यस्ता घटनाहरुले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पारेको असरको बारेमा कुनै अध्ययन भएको पाइँदैन । यस्ता समस्याको बारेमा अध्ययन तथा अनुसन्धान गर्न आवश्यक छ । यस्ता अनुसन्धानले लापरबाही ढंगले औषधि लिँदा आउने समस्याहरु बुझ्न र त्यसको न्यूनीकरणका उपाय अवलम्बन गर्न सहयोग गर्दछ ।
हाम्रो समाजमा यस्ता विषयमा शिक्षा तथा चेतना छैन । अब यो विषयमा शिक्षा तथा जनचेतना जगाउनु आवश्यक छ । परिवारका सदस्यहरुले भ्याएसम्म आफैंले ज्येष्ठ नागरिकलाई औषधि खुवाउने र नभ्याएको खण्डमा ज्येष्ठ नागरिकहरुले नझुक्किने तरिकाले सिकाउनुपर्दछ । साथै ज्येष्ठ नागरिक स्वयंले चिकित्सकको सल्लाहमा मात्र औषधि फेरबदल या मात्रा घटबढ गर्नुपर्दछ ।
– सम्झना श्रेष्ठ, बनेपा, काभ्रे ।

कोरोना महामारी ः भूल त गरिरहेका छैनौं ?
कोरोना महामारी शुरु भएको झन्डै दुई वर्ष पुगेको छ । यसको प्रभावका कारण विश्वका महाशक्ति राष्ट्रहरु नै थला परे । नेपाल यसबाट अछूतो रहने कुरै भएन । नेपालमा पनि यसको व्यापक प्रभाव देखिएको छ । यसको प्रभावका कारण देश नराम्रो मारमा परेको छ । जनता दुःखी भएका छन् । कोरोना महामरीको समूल अन्त्य भएको छैन । तर नेपालमा फेरि पनि जनता बेप्रवाह देखिएका छन् । सर्वसाधारण मात्र होइन, सरकारी कर्मचारीदेखि उच्च ओहोदाकै व्यक्तिहरु स्वास्थ्यका मापदण्ड उल्लंघन गरिरहेका छन् । राजनीतिक दलदेखि सामाजिक संस्थाका कार्यक्रमहरुमा भीडभाड शुरु भएको छ ।
कोरोना महामारीका कारण देशमा जारी लकडाउनका कारण झन्डै २ वर्ष नै देशको अर्थतन्त्र तहसनहस भयो । लाखौँले रोजगारी गुमाए । हजारौँले ज्यान गुमाए । विद्यालय अहिलेसम्म पनि ठप्प छन् । तर जनता तथा सरोकारवाला सबै कोरोना महामारीको बेवास्ता गर्दै फेरि सडकमा निस्किएका छन् ।
कुनै पनि स्वास्थ्यका मापदण्ड प्रयोग नगरेरै उनीहरु कोरोनालाई नै चुनौती दिन थालेका छन् । यसरी महामारीको समस्यालाई नजरअन्दाज गर्दै अघि बढ्दा यसले निम्त्याउने भयावह स्थितिलाई एकपटक सोच्नै पर्ने बेला आएको छ । फेरि एकपटक हामी सबै सचेत बनेर अघि बढ्ने बेला आएको छ । हाम्रो सानो लापरबाहीले देश नै फेरि लकडाउनको स्थितिमा पुग्ने खतरा रहन्छ । यसबाट हामी गम्भीर बन्नै पर्छ ।
हरेक व्यक्ति अब सचेत बन्नुपर्ने बेला आएको छ । राजनीतिक स्वार्थमा सर्वसाधारण जनताले कहिलेसम्म अकालमा ज्यान गुमाउनुपर्ने हो ? कोरोना महामारीको दोस्रो भेरिएन्ट शुरु नहुँदै राजनीतिक दलहरुले देखाइएको नौटंकीका कारण देशले दुःख भोग्नुपरेको थियो । सरकार पनि अब यो विषयमा गम्भीर बन्नुपर्छ ।
स्वास्थ्यका मापदण्डहरु कडाइका साथ लागू गर्न सबैलाई सचेत गराउनुपर्छ । यसका साथै पछिल्लो पटक अत्यन्तै प्रभावकारी साबित भएको कोरोनाविरुद्धको खोप सबै जनतालाई उपलब्ध गराउनुपर्दछ । सरकार र नागरिक मिलेर कोरोना महामारी अन्त्य गर्दै फेरि उन्मुक्त जीवन जिउने चाहनालाई पूरा गर्नुपर्छ । यस विषयमा सञ्चारमाध्यमको पनि महत्वपूर्ण भूमिका रहन्छ । सञ्चारमाध्यमले प्रकाशन प्रसारण गर्ने विषयमा स्वास्थ्य मापदण्ड र कोरोनाबाट बच्न अपनाउनुपर्ने सतर्कताका सूचना तथा जानकारी फैलाउनुपर्दछ । जनजीवन सहजीकरणका लागि भन्दै लकडाउन खुकुलो पारिएका क्षेत्रहरुमा तोकिएको मापदण्डको पालना र कडाइपूर्वक अनुगमन, दुवै आवश्यक छ ।
– विश्व अज्ञात, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्