पूर्वसभापतिदेखि उच्चपदस्थ नेताहरू वडामै पराजित



नानीराम नेपाल, सिन्धुपाल्चोक।

नेपाली कांग्रेसको वडा अधिवेशन सिन्धुपाल्चोकमा रोचक बनेको छ । वडा अधिवेशनले सिन्धुपाल्चोक कांग्रेसभित्रको कलहलाई छताछुल्ल बनाइदिएको छ । वडा अधिवेशनबाट नयाँ अनुहार र नयाँ पुस्ताले चुनाव जितिरहँदा पूर्वजिल्ला सभापतिदेखि उच्चपदस्थ केहि नेताहरुले आफ्नो वडामै चुनाव हारेका छन् ।

सिन्धुपाल्चोकका १ सय ३ वडामध्ये मंगलबार ९० वडामा अधिवेशन सम्पन्न हुँदा नेपाली कांग्रेसका पूर्वजिल्ला सभापतिदेखि जनप्रतिनिधिसम्मले आफ्नो वडामै चुनाव हारे । नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति भूपेन्द्रबहादुर थापाले क्षेत्रीय प्रतिनिधिमा चुनाव हारेका छन् । नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिना पनि क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन् । महिला संघकी गीता नेपाल पनि पराजित भएकी छन् । सुनकोसी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेल पनि क्षेत्रीय प्रतिनिधिमा पराजित भएकी छिन् ।

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले संस्थापनइतर लागेका नेताहरुलाई सेटिङमा वडामै चुनाव हराइदिएको आरोप लगाइएको छ । ‘ठूलो चलखेल र सेटिङ भयो, उपयुक्त समयमा हिसाब गर्नेछौं ।’ –नाम नखुलाउने सर्तमा क्षेत्रीय प्रतिनिधिमा पराजित एक नेताले भने । केन्द्रीय सदस्य मोहन बस्नेतले १ नम्बर क्षेत्रमा क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यतामा मनोमानी गरेको पनि ती नेताको आरोप छ ।

नयाँ पुस्ताका युवाहरु प्रतिनिधि छनोट भइरहँदा पुराना नेता तथा केन्द्रमा पहुँच बनाएकाहरुले वडामै चुनाव हारेका हुन् । जिल्ला कार्यसमितिका पूर्वसभापति भूपेन्द्रबहादुर थापाले बाह्रबीसे–४ बाट क्षेत्रीय प्रतिनिधिमा उम्मेदवारी दिएका थिए । तर, मतदान प्रक्रियामा जाँदा उनले पराजय भोग्नुपर्‍यो । नेविसंघ महामन्त्री तिमल्सिनाले त्रिपुरासुन्दरी गाउँपालिका–३ मा क्षेत्रीय प्रतिनिधिका लागि उम्मदवारी दिएकोमा उनले १७ मतले चुनाव हारेका हुन् । सुनकोसी गाउँपालिकाकी उपप्रमुख लक्ष्मी पौडेलले वडा नम्बर ४ यमुनाडाँडाबाट चुनाव हारेकी हुन् । केहि दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट पदक थापेका सर्जिकल व्यवसायी एवम ह्याम्स अस्पतालका सञ्चालक रामशरण भण्डारीले पनि क्षेत्रीय प्रतिनिधिमा चुनाव हारे ।

प्रतिक्रिया दिनुहोस्