मानव अधिकार हननमा सरोकारवाला निकाय जिम्मेवार



नेपाल समाचारपत्र, बैतडी।

मानव अधिकार विषयमा सरोकारवाला निकाय जिम्मेवार बन्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । इन्सेकले आयोजना गरेको ‘मानव अधिकार रक्षकहरुको अवस्था र सुरक्षाका सवालहरु’ विषयक छलफल कार्यक्रमका सहभागीहरुले मानव अधिकार रक्षकहरुको सुरक्षाका सवालमा सरोकारवाला निकाय जिम्मेवार बन्नुपर्नेमा जोड दिएका हुन् ।

सरकारले नीतिमा मात्रै नभई व्यवहारिकरूपमा पनि मानव अधिकार रक्षकहरुको सवालमा जिम्मेवार हुनुपर्ने महिला मानव अधिकारकर्मी सरस्वती नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘नीतिमा मानव अधिकार रक्षकहरुको सवालमा सन्तोषजनक कुरा उल्लेख गरिएका छन् तर व्यवहारमा कार्यान्वयन नहुँदा समस्या भएको छ ।’ महिला र दलितले आफ्नो सामान्य अधिकार अझै पाउन नसेकेको समेत नेपालीले गुनासो गर्नुभयो । अधिकारका लागि आवाज उठाउनै नसक्ने वर्ग पनि समाजमा रहेको भन्दै उहाँले उनीहरुको आवाजको सुनुवाइमा ढिलाइ हुने गरेको टिप्पणी गर्नुभयो ।

कुनै सार्वजनिक सवालमा कुरा उठाउँदा समेत दुव्र्यवहारको मुद्दा दर्तासम्मको अवस्था आउने गरेको भन्दै कार्यक्रममा सहभागी चन्द्रदेव जोशीले चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘मानव अधिकारको वकालत गर्दा सुनुवाइको सट्टा उल्टै नियोजितरूपमा फसाउन खोजिन्छ ।’

यस्तै, संविधानले शिक्षा, स्वास्थ्य, आवास, रोजगारी र मानवअधिकारको विषयमा ग्यारेन्टी गरेको भए पनि यहाँका विपन्न वर्ग वञ्चित रहेका गुनासो पनि गरिएको छ ।

अधिवक्ता हरिदत्त भट्टले जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई अझै कोरोनाको खोप पाउन नसकेको बताउनुभयो । कार्यक्रमका सहभागीहरुले जिल्लामा नागरिकले भोग्नुपरेका सास्तीबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराएका थिए । नेपाल–भारत सीमानाका झुलाघाटमा सर्वसाधारणले सास्ती भाग्नुको साथै जिल्लामा यातायात व्यवसायीले मनपरी भाडा असुलीरहेकाले यसलाई नियमन गर्नुपर्ने दशरथचन्द नगरपालिकाका युवा उत्तम चन्दले बताउनुभयो ।

गुनासाहरुको जवाफमा दिँदै प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले मानव अधिकार रक्षकहरुको सुरक्षा र जनताको मानव अधिकार प्रत्याभूत गराउन लागिपरेका भन्दै कुनै समस्या परेमा तुरुन्तै खबर गर्न आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख रमेशबहादुर पाल र सशस्त्र प्रहरीका प्रमुख गणेश शाहले पनि मानव अधिकारकर्मीहरुको सुरक्षाका सवालमा आफूहरु जिम्मेवार रहेको जानकारी गराउनुभएको थियो ।

कार्यक्रमलाई बोल्दै इन्सेक सुदूरपश्चिम संयोजक खडकराज जोशीले मानव अधिकारर्मीहरुको सुरक्षाका सवालमा राज्य जिम्मेवार हुनुपर्ने बताउनुभयो । जोशीले गृह मन्त्रालयले आदेश गरेको मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षणसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न सुरक्षा निकायलाई आग्रह गर्दै अधिकारकर्मीहरुले पनि आफ्नो आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्