राजस्व अनुसन्धानले कपडा समाएपछि लफडा



नेपाल समाचारपत्र, भद्रपुर ।

राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले भद्रपुर भन्सार कार्यालयबाट राजस्व तिरेर निस्किएको सामानलाई नियन्त्रणमा लिएर इटहरी लैजान खोजेपछि यहाँका व्यापारी र कारोबारीले त्यसको प्रतिकार गरेका छन् । व्यापारी र कारोबारी प्रतिकारमा उत्रिएपछि भद्रपुर भन्सार कार्यालयको कामकाज प्रभावित बनेको थियो ।

उनीहरूले राजस्व अनुसन्धान कार्यालयको ज्यादतीविरुद्ध खुलेर विरोध जनाएका थिए । घटना विवरणअनुसार अंशु इन्टरप्राइजेज विर्तामोडको फर्ममा भद्रपुरका कपडा व्यापारी रञ्जित रायले दुई पोका कपडा भन्सारमा राजस्व तिरेर ठेला भेनमा लैजाँदै थिए ।

भन्सारदेखि ५० मिटर प्रहरी चेकपोस्टमा इन्ट्री गराएलगत्तै राजस्व अनुसन्धान कार्यालय इटहरीका अनुसन्धान अधिकृत रमेश ओझाको नेतृत्वमा खटिएको टोलीले मङ्लबार दिउँसो ४ बजे सो ठेला भेन नियन्त्रणमा लिएको थियो । सूचनाकै आधारमा को१झ ५१६ नम्बरको गाडीमा राजस्वबाट कम्तीमा ६ जनाको टोली भद्रपुर आएका थिए ।

नियन्त्रणमा लिएका दुई पोका कपडा अनुसन्धान अधिकृत ओझाले इटहरी लैजान लागेपछि भद्रपुरका व्यापारी र कारोबारी एकजुट भएर त्यसको प्रतिकारमा उत्रिका थिए । उनीहरूले भन्सारमा राजस्व तिरेको सामान कुनै पनि हालतमा इटहरी लैजान नदिने भन्दै अडान लिँदै सडकमै घेरा हाले ।

राजस्वका अनुसन्धान अधिकृत ओझाले सामान इटहरी लैजाने आदेश आएको भन्दै आफ्नो अडान छाडेनन् । दुवै पक्षको आ–आफ्नो अडान नछाडेपछि घटनास्थल केही बेर तनावपूर्ण बन्यो, स्थानीयको भीडभाडसमेत बढ्यो । त्यसपछि घटनास्थलमा झापा उद्योग वाणिज्य संघका प्रतिनिधि, वडा प्रहरी कार्यालय भद्रपुरको टोली पुग्यो । त्यसपछि अनुसन्धान अधिकृत ओझाले राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख अनुसन्धान दीपक खड्कालाई सम्पर्क गरेर घटनास्थलका बारेमा जानकारी गराउनुभएको थियो ।

घटनास्थलको अवस्था बुझेपछि प्रमुख अनुसन्धान अधिकृत खड्काले नियन्त्रणमा लिएका सामान प्रहरी कार्यालय झापामा लगेर छानबिन गर्न मौखिक आदेश दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्