लागूपदार्थ दुव्यर्सनमा कम उमेरका युवाको संलग्नता बढी



अमृत अर्याल, स्याङ्जा ।

पोखरा–सुनौली (भारतीय सिमाना जोड्ने) मुलुककै पहिलो सिद्धार्थ राजमार्ग पछिल्लो समय लागुऔषध ओसारपसार गर्ने सजिलो मार्ग बनेको छ । लागुऔषध प्रयोगकर्ता र ओसारपसार गर्ने व्याक्ति पक्राउ पर्ने क्रम बढेको छ । लागु औषधमा संलग्न ठूला नाइके अहिलेसम्म पक्राउ पर्न त सकेका छैनन् । तर, स साना कलिला युवाहरु लागु औषधसहित पक्राउ पर्ने क्रम बढ्दो छ । पक्राउ परेका १५ बर्ष उमेरका (नाम गोप्य राखिएका) देखि ६० बर्षे चित्रबहादुर शाही सम्मका ब्यक्तिहरु लागु औषध कारोवारमा संलग्न देखिएको प्रहरीको तथ्यांकमा छ ।

स्याङ्जामा भदौको पहिलो साता लागु औषधसहित २ युवा पक्राउ परे । पक्राउ पर्नेमा वालिङ् नगरपालिकाका १९ बर्षीय नरेन्द्र रनपाल र ब्यास नगरपालिकाका २७ बर्षीय शिव परियार रहेको प्रहरीले जनाएको छ । रनपाल स्याङ्जाका हुन भने परियार तनहुँका । उनीहरु दुवै जना लागु औषधसहित वालिङ्बाट भदौ ४ गते र ५ गते पक्राउ परेका हुन् । रनपालले बोकेको झोलामा डाईजेपाम २१ एम्पुल, नोफिम १९ एम्पुल, फेनारेगन २० एम्पुल र सुकेको गाँजा २५ ग्राम लागु औषध भेटिएको हो ।

यसैगरी, परियारबाट पनि डाईजेपाम १६ एम्पुल, नोफिन १७ एम्पुल र फेनरागन १७ एम्पुल फेला परेको प्रहरीले जनाएको छ । साउन महिनामा पनि पुतलीबजारमा २ युवा लागु औषध सहित पक्राउ परेका थिए । पुतलीबजार नगरपालिकाका २५ वर्षीय दिवस गुरुङ र आँधीखोला गाउँपालिकाका २२ वर्षीय अमुल परियार पक्राउ परेका हुन । उनीहरु दुबै जना स्याङ्जाकै हुन । उनीहरुका साथबाट पनि यिनै प्रकृतिका लागु औषध भेटिएका थिए ।

शंकास्पद अवस्थामा भेटिएका उनीहरुलाई सोधपुछ गर्दा लागू औषध सेवन गर्ने बताएपछि उनीहरुको घरमा खोजतलासी गर्दा सुत्ने कोठामा राखेको व्यागमा दुई दुई एमएलको लागू औषध बुफ्रेनोर्फिन २८ एमपुल, डाईजेपाम २८ थान, फेनरागन २८ एम्पुल गरी ८४ एम्पुल र लागू औषध गाँजा ५ ग्राम तथा सिरिन्ज समेत भेटिएको प्रहरीले जनाएको छ । यी त केबल प्रतिनिधी घटना मात्र हुन् । यिनीहरु जस्तै धेरै युवाहरु लागु औषधसहित प्रहरीले पक्राउ गरेको छ । केही बर्ष पहिला पनि धेरै ठूलो मात्रामा लागु औषध पक्राउ गरेको प्रहरीको भनाई छ ।

लागु औषध सेवन र ओसारपसारमा युवाको संलग्नता बढी छ । अधिकांशलाई यात्राका क्रममा सवारी साधनमा पक्राउ गर्ने गरिएको छ । लागू पदार्थ ओसारपसार भईरहेको भनी प्रहरीलाई दिइएको सूचनाको आधारमा ती युवाहरु पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार ‘यिनीहरुले नेपाल—भारत सिमा नाकाबाट लागु औषध ओसार पसार तथा सेवनका लागी ल्याउछन्, अधिकांशले नवरपरासी, भैरहवा, सुनवल हुदै ल्याउने गरेका छन् ।’

यी त केवल पक्राउ परेका केही तथ्यांक मात्र हुन् । यी बाहेक प्रहरीका आँखा छलेर ओसार्नेको संख्या पनि उत्तीकै हुनसक्ने अनुमान गर्न सकिन्छ । अधिकांश यस्ता घटनामा सुराकीकै आधारमा पक्राउ परेको प्रहरीको स्रोतले देखाउछ । प्रहरीलाई सुराकी दिने पनि यिनीहरुकै साथ संगतका ब्यक्ति बढी हुन्छन् । सिद्धार्थ राजमार्गअन्तर्गत सुनौलीदेखि पोखरा लागुऔषध ओसारपासारको ट्रान्जिट बनेको छ । अधिकांश युवाहरु एकै प्रकृतीबाट लागु ओैषध ओसार पसारमा संलग्न देखिन्छन् । उनीहरुले पत्रिकाले बेरी टेपले र्‍यापिङ्ग गरी सुरक्षित किसिमले यस्ता सामान ल्याउछन् । यसरी लागु औषधको ओसार पसारमा कम उमेरका युवकहरु धेरै रहेका छन् ।

पक्राउ परेका मध्ये ८० प्रतिशत १६ बर्षदेखि २४ बर्ष उमेरका छन् । लागु औषध ओसार पसारमा २ बर्षअघि १५ बर्षे नावालक र महिला पनि संलग्न देखिए । पक्राउ पर्ने मध्ये कतिपय आफै लागु औषधको दुब्र्यसनमा लागेका हुन्छन भने कतिपयले पोखरासम्म पुर्‍याउने काम गर्दे आएको भेटिएको प्रहरीको भनाई छ । सुनौलीदेखि पोखरासम्मको सिद्धार्थ राजमार्ग खण्डको ८२ किलोमीटर स्याङ्जामा पर्छ । अधिकांश लागु औषधका रुपमा प्रयोग हुने गाँजा, चरेस, चरेश जस्तो कालो पदार्थ, खैरोहिरोइन, डाइजाफाम, फेनाडागन, नुफिन, लुपेजिष्टीक, डाइजोपाम, इन्जेक्सन, फेनारगन, नुरफिन, ट्राजोल लगायतका बस्तुहरु अधिकांश सवारी यात्राकै क्रममा नै भेटिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्