राजस्व अनुसन्धानले कपडा समाएपछि लफडा



भद्रपुर । 

राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले भद्रपुर भन्सार कार्यालयबाट राजश्व तिरेर निस्किएको सामानलाई नियन्त्रणमा लिएर इटहरी लैजान खोजेपछि यहाँका व्यापारी र कारोबारीले त्यसको प्रतिकार गरेका छन् ।

व्यापारी र कारोबारी प्रतिकारमा उत्रिएपछि भद्रपुर भन्सार कार्यालयको कामकाज प्रभावित बनेको थियो । उनीहरूले राजश्व अनुसन्धान कार्यालयको ज्यादतीविरुद्ध खुलेर विरोध जनाएका थिए । घटना विवरण अनुसार अंशु इन्टरप्राइजेज बिर्तामोडको फर्ममा भद्रपुरका कपडा व्यापारी रञ्जित रायले दुई पोका कपडा भन्सारमा राजश्व तिरेर ठेला भेनमा लैजाँदै थिए ।भन्सारदेखि ५० मिटर प्रहरी चेकपोष्टमा इन्ट्री गराए लगतै राजश्व अनुसन्धान कार्यालय इटहरीका अनुसन्धान अधिकृत रमेश ओझाको नेतृत्वमा खटिएको टोलीले मङ्लबार दिउँसो ४ बजे सो ठेला भेन नियन्त्रणमा लिएको थियो । सूचनाकै आधारमा को १ झ ५१६ नम्बरको गाडीमा राजश्वबाट कम्तीमा ६ जनाको टोली भद्रपुर आएका थिए ।

नियन्त्रणमा लिएका दुई पोका कपडा अनुसन्धान अधिकृत ओझाले इटहरी लैजान लागेपछि भद्रपुरका व्यापारी र कारोबारी एकजुट भएर त्यसको प्रतिकारमा उत्रिए । उनीहरूले भन्सारमा राजश्व तिरेको सामान कुनै पनि हालतमा इटहरी लैजान नदिने भन्दै अडान लिँदै सडकमै घेरा हाले ।राजश्वका अनुसन्धान अधिकृत ओझाले सामान इटहरी लैजाने आदेश आएको भन्दै आफ्नो अडान छाडेनन् । दुवै पक्षको आ–आफ्नो अडान नछाडेपछि घटनास्थल केही बेर तनावपूर्ण बन्यो, स्थानीयको भिडभाड समेत बढ्यो ।

त्यसपछि घटनास्थलमा झापा उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, वडा प्रहरी कार्यालय भद्रपुरको टोली पुग्यो । त्यसपछि अनुसन्धान अधिकृत ओझाले राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख अनुसन्धान दीपक खड्कालाई सम्पर्क गरेर घटनास्थलको बारेमा जानकारी गराउँनुभएको थियो । घटनास्थलको अवस्था बुझेपछि प्रमुख अनुसन्धान अधिकृत खड्काले नियन्त्रणमा लिएका सामान प्रहरी कार्यालय झापामा लगेर छानबिन गर्न मौखिक आदेश दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्