नगर अस्पतालमा एक सतादेखि सेवा ठप्प



गोकुल घोरसाइने, बारा।

अस्पताल तोडफोड र स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको विरोधमा स्वास्थ्यकर्मी र कर्मचारीले गर्दै आएको आन्दोलनका कारण बाराको सिम्रौनगढ नगर अस्पतालको सेवा एक सातादेखि सेवा ठप्प बनेको छ ।

अस्पतालमा तोडफोड गर्ने र कर्मचारीमाथि कुटपिट गर्ने कार्यमा संलग्नमाथि कारबाहीको माग गर्दै कर्मचारी र स्वास्थ्यकर्मीले नगरको शिक्षा, स्वास्थ्य, वडा कार्यालय र नगरपालिकाबाट दिइने सबै सेवा तथा विकास निर्माणका काम बन्द गराएका छन् ।

दोषीमाथि कारबाहीको माग गर्दै मंगलबार प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालसमक्ष ज्ञापन पत्र बुझाइएको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार साहले बताउनुभयो । उहाँका अनुसार क्षतिको मूल्यांकनसहित घटनाबारे छानबिन गर्न प्रमुख जिल्ला अधिकारी कटुवालले आश्वासन पनि दिनुभएको छ । तर घटनाको छानबिन गरी दोषीमाथि कारबाही र सुरक्षाको भरपर्दो व्यवस्था नभएसम्म काममा नफर्किने निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले बताउनुभयो । ‘नगरका कर्मचारी, स्वास्थ्यकर्मीसँगै नगरपालिका कार्यालय तथा अस्पतालमा भौतिक सम्पत्ति तोडफोडले ठूलो नोक्सान भएको छ, कर्मचारीसमेत घाइते छन, अधिकृत साहले भन्नुभयो, बिना कारण यति ठूलो क्षेति पुर्‍याउने दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले प्रहरीले चासो नदिएको आरोप लगाउनुभएको छ । ‘घटनाका दोषीमाथि कारबाही गर्न प्रहरीले चासो दिएको छैन्,’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म न कसैलाई पक्राउ गरिएको छ, न अनुसन्धान भएको छ ।’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले भने घटनाबारे अनुसन्धान गरेर दोषीमाथि कारबाही गरिने बताउनुभयो ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर–२ मौवाही गाउँका सतिश साहको डेढ वर्षीय छोरालाई सर्पले डस्दा उपचार नपाएर मृत्यु भएको भन्दै मृतक परिवार र गाउँलेको एउटा समूहले मिलेर गत भदौ २८ मा अस्पताल र नगरपालिका कार्यालयमा तोडफोड गरेका थिए । शवसहित प्रदर्शनमा उत्रिएको आक्रोशित समूहले कर्मचारी तथा स्वास्थ्यकर्मीलाई समेत कुटपिट गरी घाइते बनाएको थियो । त्यसक्रममा अस्पतालको कम्प्युटर, सिसाको झ्याल, फार्मेसी, नगरपालिका कार्यालयको ढोकालगायतमा क्षति पुगेको छ । प्रदर्शनकारीको कुटपिटबाट नगरपालिकाका अपांगता शाखाका कर्मचारी प्रयाग महतो सख्त घाइते भएका थिए । उनी पनि शारीरिक अपांगता भएका व्यक्ति हुन् ।

सिम्रौनगढ अस्पतालका इन्चार्ज जितेन्द्र यादवका अनुसार महतो, नगर प्रहरीसहित अन्य १२ जना समान्य घाइते भएका थिए । सर्पदंशमा परेका बालकको अवस्था गम्भीर देखिएपछि अस्पतालमा भेन्टिलेटर तथा आईसीयूको व्यवस्था नभएकाले अन्यत्र लैजान चिकित्सक, स्वास्थ्यकर्मीले सल्लाह दिएका थिए । कलैया लैजाँदै गर्दा बाटोमै बालकको मृत्यु भएको आफन्त ताराचन्द साहले बताउनुभयो । अस्पतालमा लैजादै गर्दा बाटोमै बालकको मृत्यु भएपछि आक्रोशित समूहले अस्पताल र नगरपालिकामा तोडफोड गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्