दशैंको मुखमा खाद्य संस्थान रित्तै



वीरबहादुर बम, मुगु ।

हिमाली जिल्ला मुगुमा दशैंको मुखमा खाद्यान्न अभावको भएको छ ।

जिल्लामा भएका खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेडका सबै डिपोमा खाद्यान्न मौज्दात नरहँदा डिपो कार्यालय तथा बिक्री केन्द्रहरू रित्तिनुका साथै शाखा केन्द्र गमगढी बजारमा पनि खाद्यान्नको अभाव शुरु भएको हो ।

जिल्लामा रहेका पुलु केन्द्र, सोरुकोट डिपो केन्द्र, श्रीकोट डिपो केन्द्र, रातापानी बिक्री केन्द्र र कालै बिक्री केन्द्र गरी पाँचवटा डिपो तथा बिक्री केन्द्र असार महिनादेखि नै रित्तो भएका थिए । केन्द्रहरूमा ठेक्का प्रक्रियाका लागि टेन्डर प्रक्रिया भइरहेको र अहिले टेन्डर प्रक्रिया पनि अन्तिम चरणमा पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुले जानाएको छ ।

केन्द्रबाट वितरण भइरहेको चामल सकिएपछि ती डिपो कार्यालय रित्तै भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका सूचना अधिकारी पुष्कर भामले बताउनुभयो । शाखा कार्यालय गमगढी बजारमा अहिले ६ सय क्विन्टल चामल मौज्दात रहेको छ । जसमा ३ सय क्विन्टल मोटा र ३ सय क्विन्टल जापानी चामल रहेको उहाँको भनाइ छ ।

दशैंको मुखमा आएर डिपो केन्द्रहरूमा चामल सकिएपछि शाखा कार्यालय मुगुमा चामल लिन आउनेको दैनिक भीड लाग्ने गरेको छ । दशैंसम्म चामल आइपुग्छ कि पुग्दैन भन्ने चिन्ता मुगुवासीमा छ । अहिले दैनिक १ सयदेखि २ सय जनासम्म सदरमुकामलगायत टाढाबाट पनि खाद्यान्न लिन आउने गरेको सूचना अधिकारी भाम बताउनुहुन्छ । ‘सदरमुकाममा आवश्यकताअनुसार खाद्यान्न स्थानीयलाई पुर्‍याउन सकिएको छैन ।’ –उहाँले भन्नुभयो । संस्थानमा खाद्यान्न अभाव भएपछि बजारबाट महँगोमा खाद्यान्न किन्न मुगुवासी बाध्य छन् ।

पछिल्लो समय २५ किलोको एक बोरा चामलको २ हजार रुपियाँदेखि २५ सयसम्म हालेर खाने गरेको सोरू गाउँपालिका–८ का मिट्या कामीले बताउनुभयो । खाद्य संस्थानमा जापानी चामल ३० केजीको बोरा १५ सयमा पाइने गरेको र मोटा चामल २५ केजीको बोरा ११ सय ७५ रपियाँमा पाइने गरेको उहाँको भनाइ छ ।

सरकारले हरेक वर्ष दशैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर वितरण गर्दै आइरहेको सुपथ मूल्यको चामल उपभोक्ताले नपाएका हुन् । मुगुमा हाल ६ सय क्विन्टल चामल मात्र गोदाममा मौज्दात रहेकाले नागरिकले चामल नपाएका हुन् । चामल वितरण गर्ने हो भने दुई दिनमै शाखा कार्यालयको चामल सकिने सूचना अधिकारी भामले बताउनुभयो ।

तर, खाद्य सुरक्षा समितिको बैठकले मुगुमा सहुलियत मूल्यको चामल अहिले नै वितरण नगरेर असोज महिनाको १५ देखि २० गतेभित्र वितरण गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्