चीनको छङ्तुमा पहिलो पटक मनाइयो संविधान दिवस



काठमाडौँ ।

चीनको छङ्तुमा पहिलो पटक नेपालको राष्ट्रिय तथा संविधान दिवस मनाइएको छ । चार महिनाअगाडि सिछुवान प्रान्तको सदरमुकाम शहर छङ्तुमा खुलेको नेपाली महावाणिज्यदूतावासमा परिसरमा महावाणिज्यदूत दिनेशकुमार घिमिरेले राष्ट्रिय दिवसको अवसरमा नेपालको राष्ट्रिय झण्डाको झण्डत्तोलन गरेका थिए ।

नेपालको राष्ट्रिय गीतबाट सुरु गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा नेपाली समुदायलाई राष्ट्रिय दिवसको उपलक्ष्यमा दिइएका सन्देश नियोग प्रमुख घिमिरेले पढेर सुनाएका थिए ।

यसअघि राष्ट्रिय दिवसकै अवसरमा महावाणिज्यदूत घिमिरेले छन्तुस्थित होलट निकोलोमा एक स्वागत समारोहको आयोजना गरेका थिए । कार्यक्रममा उनले सिछुवान र क्विचौँ प्रान्त एवम् छोङछिङ नगरपालिकाको तीब्र विकासको प्रशंसा गर्दै नेपालसँगको व्यापार, आर्थिक विकास र जनस्तरको आदानप्रदान एवम् सहकार्य अझ मजबुत हुने आशा व्यक्त गरे । महावाणिज्यदूत घिमिरेले नेपालको पर्यटन र लगानीको बारेमा जानकारी दिँदै सिछुवान जनसरकारले नेपालप्रति दर्शाउँदै आएको सद्भावका लागि धन्यवाद दिए ।

सो अवसरमा सिछुवान प्रान्तीय जनकांग्रेसका उपाध्यक्ष याङ होङ पोले नेपाल र चीनबीचको मैत्रीपूर्ण आदानप्रदानमा सिछुवानले महत्त्वपूर्ण माध्यमको रुपमा भूमिका निर्वाह गरेको भन्दै विपत्ती र महामारीका बेला सिछुवान र नेपाल सामिप्यमा रहेर सहकार्य गरेको बताए । उनले सम्बन्धित पक्षको प्रयासबाट सिछुवान–नेपाल मैत्रीपूर्ण सम्बन्ध र विभिन्न क्षेत्रको सहकार्य अझ प्रवर्द्धन हुँदै जाने विश्वास व्यक्त गरे ।

सो अवसरमा नेपालको बारेमा तयार पारिएको भिडियो प्रदर्शन गरिनुका साथै साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । समारोहमा सिछुवान प्रान्त तथा नगरपालिकाका विदेश मामिला कार्यालयका प्रतिनिधि, विभिन्न मुलुकका महावाणिज्यदूत, छन्तु तथा छोङछिङस्थित विदेशी नियोगका प्रतिनिधि, स्थानीय उद्योगी, व्यापारी, लगानीकर्ता, संचारकर्मी र सिछुवानमा रहेका नेपालीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्